भारतमा भयानक ट्रेन दुर्घटना: आगलागीको हल्लापछि यात्रु हामफाले, अर्को ट्रेनले किचिदियो

जनता संवाददाता
२०८१ माघ ९ गते, बुधबार

काठमाडौँ । महाराष्ट्रको जलगाउँमा बुधबार ठूलो रेल दुर्घटना भएको छ।

पधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएको थियो। त्यसपछि कसैले चेन तानेर ट्रेन रोकेपछि धेरै यात्रुहरू चलिरहेको ट्रेनबाट हामफालेका थिए।

भारतीय सञ्चार माध्यमका अनुसार यात्रुहरू ट्रेनबाट हाम फालेर अर्को ट्र्याकमा बसेकै बेला अर्को ट्र्याकबाट आइरहेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किचेको थियो।

दुर्घटनामा ८ देखि १० जनाको मृत्यु भएको हुनसक्ने बताइएको छ।

ब्रेक लगाउँदा धुवाँ निस्किएपछि फैलियो हल्ला
पुष्पक एक्सप्रेस लखनउबाट मुम्बई जाँदै थियो भने कर्नाटक एक्सप्रेस मुम्बईबाट दिल्ली जाँदै थियो। रिपोर्ट अनुसार, पुष्पक एक्सप्रेसको ब्रेक लगाउँदा पाङ्ग्राबाट धुवाँ निस्किएको थियो।

यसै कारण यात्रुहरूमा ट्रेनमा आगलागी भएको हल्ला फैलियो। हल्लाकै कारण धेरै यात्रुहरू डब्बाबाट बाहिर हाम फालेका थिए।

रेलवे अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्। सेन्ट्रल रेलवेको भुसावल डिभिजनका अधिकारिक स्रोतका अनुसार दुर्घटना भएको स्थानमा ट्र्याक तीव्र मोडमा थियो। यसै कारण यात्रुहरूले ट्रेन आउँदै गरेको समेत थाहा पाएनन्।

प्रकाशित मिति : २०८१ माघ ९ गते, बुधबार


Scroll to Top

Janata Media