नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नक्कली जग्गाधनी पुर्जा बनाई बैंकमा धितो राखेर एक करोडभन्दा बढी रकम ठगी गर्ने कार्यमा संलग्न तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक आयूशप्रसाद जोशीले नक्कली जग्गाधनी पुर्जा बनाई बैंकमा धितो राखेर एक करोड २० लाख रुपियाँ रकम ठगी गर्ने कार्यमा संलग्न तीनजनालाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिए ।
सूचना अधिकारी जोशीका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नम्बर १ काभ्रेपलाञ्चोकका २२ वर्षीय गौरव कार्की, सोही ठेगाना भएका ३५ वर्षीया ईश्वरीमाया रोका र जितपुर नगरपालिका वडा नम्बर ३ बाराका ३५ वर्षीय दिलिपकुमार सिंह रहेका छन् ।
उनीहरुले चन्दननाथ नगरपालिका वडा नम्बर ८ जुम्लाकी रेशमा श्रेष्ठको नाममा डुडुवा गाउँपालिका वडा नम्बर ५ बाँकेमा दर्ता रहेको कि.नं. ९५१ र कि.नं. ९५२ क्षेत्रफल ११,०६०.३८ वर्गमीटर (३३ कट्ठा) जग्गाको नक्कली जग्गाधनी पुर्जा बनाई मुक्तिनाथ विकास बैंक लिमिटेड लगनटोल काठमाडौँबाट एक करोड २० लाख रकम कर्जा लिएको उनले जानकारी दिए ।
बैंकबाट कर्जा निकालेको रकम उनीहरुले बाँडी लिएको र ठगीखाने कार्यमा संग्लन भएको प्रहरीले जनाएको छ । उनीहरुलाई मंगलबार काठमाडौँ प्रहरीको सहयोगमा काठमाडौँको बुद्धनगर र कोटेश्वरबाट पक्राउ गएिको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।







