मुगु । मुगुको सोरु गाउँपालिकामा सञ्चालन हुन लागिरहेको रेडियो हाम्रो कर्णालीको काम अन्तिम चरणमा पुगेको छ । केही दिनअघि टावर जडान गरिएसँगै रेडियो हाम्रो कर्णाली १०४.१ मेगाहर्जको काम अन्तिम चरणमा पुगेको हो ।
सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीका अनुसार टावर जडानको काम सकिएसँगै लगभग काम अन्तिम चरणमा पुगिसकेको र अबको केही दिनमा सञ्चालनमा ल्याइने छ । ‘भवन बनाउनेदेखि उपकरण जडान गर्ने काम लगभग सकिसकेको छ । बैशाखको पहिलो हप्ताबाट परीक्षण प्रसारण गर्ने गरि काम गरिरहेका छौँ । हामी भरपुर तयारीमा जुटेका छौँ ।’ जनता मिडियासँग उनले भने ।
साथै उनले रेडियो सञ्चालनमा आएसँगै हुम्ला, मुगु र बाजुराका स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् । समाचार बनाउने क्रममा, सूचना सम्प्रेषण गर्ने क्रममा गाउँपालिकाले कुनै पनि खालको हस्तक्षेप नगर्ने र सबैलाई समान ढंगले निष्पक्ष रुपमा काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो सञ्चालनमा आएसँगै स्थानीयहरुलाई देश तथा विदेशका र स्थानीय निकायका सूचना थाहा पाउन सहज हुनुका साथै प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।







