एनएसएलको उपाधि ललितपुर सिटी एफसीलाई

जनता संवाददाता
२०८२ बैशाख १४ गते, आईतवार

काठमाडौँ । तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।

दशरथ रङ्गशालमा शनिबार भएको फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै उपाधि रक्षा गरेको हो ।

साविक विजेता समत रहेको ललितपुरलाई लगातार दोस्रो पटक उपाधि जिताउन दुई विदेशी खेलाडी इमोह इजेकेलले ४२औँ र पापा इबोउ केबेले ७४औँ मिनेटमा गोल गरे ।

यसअघि पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले ६३औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । तर उक्त गोल सान्त्वनामा परिणत भयो ।

ललितपुरले लिग चरणदेखि अपराजित रहँदै उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ८० लाख रुपियाँ पुरस्कार पायो । पोखराले ३० लाख रुपियाँ प्राप्त गरेको छ । एनएसएल पहिलो संस्करणको उपाधि भने काठमाडौँ एफसीले जितेको थियो ।

पोखरा थन्डर्सलाई फाइलनमा लग्न महत्वपूर्ण भूमिका खेलेका मिडफिल्डर आयुश घलान एनएसएलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उहाँले उपाधिसँगै दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाए ।

यस्तै विधागततर्फ ललितपुरका मणिकुमार लामा इनर्जेटिक खेलाडी, ललितपुरकै सन्तोष खत्री उदीयमान खेलाडी, पोखरा प्रिसो उत्कृष्ट गोलरक्षक, धनगढीका अहमद हिजाजी सर्वाधिक गोलकार्ता र झापा एफसीले ‘फेयर प्ले अवार्ड’ जितेको छ । विधागत उत्कृष्टलाई जनही एक लाख रुपियाँ प्रदान गरियो ।

प्रतियोगिता समापन अवसरमा नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर प्रिती राईलाई स्कुटर प्रदान गरिएको थियो । प्रिती एनएसएलकी गुडविल एम्बेसडर हुन् ।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते, आईतवार


Scroll to Top

Janata Media