नागढुङ्गा–मुग्लिङ सडकखण्ड पन्ध्र दिन आंशिक बन्द हुने

जनता संवाददाता
२०८२ जेष्ठ ११ गते, आईतवार

काठमाडौँ । सङ्घीय राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको त्रिभुवन राजपथको नागढुङ्गा–पिपलामोड खण्ड १५ दिनका लागि आंशिक बन्द हुने भएको छ । जेठ १० देखि २५ गतेसम्म बिहान साढे दस बजेदेखि अपराह्न तीन बजेसम्म आंशिक बन्द हुने नागढुङ्गा–मुग्लिङ सडकखण्ड विस्तार आयोजना (पूर्वी खण्ड) ले जनाएको छ ।

पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझाले आयोजनाको सो खण्डको कालोपत्रे गर्नुपर्ने भएकाले दैनिक साढे चार घण्टा बन्द गरिएको जानकारी दिए। उनले भने, “काठमाडौँ भित्रिने मुख्य राजमार्गका रूपमा रहेको सो खण्डको निर्माण मनसुन सुरु हुनुअघि नै सम्पन्न होस् । मनसुन सुरु हुनुअघि नै काम सम्पन्न गर्न सकिएन भने अत्यन्तै उकालो–ओरालो र घुम्ती रहेको सो खण्डमा सवारीसाधन चिप्लिने र दुर्घटनासम्म भई जनधनको समेत क्षति हुन सक्ने भएकाले बन्द गरेरै काम सुरु गरिएको हो ।”

यसअघि एक लेन (वन–वे) मा सवारीसाधन सञ्चालन गरेर काम गर्दा लामो दुरीसम्म जाम हुने र काम पनि लक्ष्य अनुसार नहुने भएकाले अन्त्यमा बाटै बन्द गर्नुपरेको आयोजना प्रमुख ओझाले स्पष्ट पारे । उनका अनुसार आयोजनाको पूर्वी खण्डको कुल १२ किलोमिटरमध्ये नौ किलोमिटरको काम सम्पन्न भइसकेको छ । तीन किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । जेठ २५ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।

उनले यस सडकखण्डको विकल्पमा सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडकमार्ग र सामाखुसी–टोखा–गुर्जेभन्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी सडकमार्ग प्रयोग गर्न सबैसँग आग्रह गरे । नागढुङ्गा–मुग्लिङ सडकखण्ड विस्तार आयोजना अन्तर्गत कुल ९५ किलोमिटर सडक विस्तार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते, आईतवार