सत्यवती झी : नेवा समाजलाई बाजा प्रदान

जनता संवाददाता
२०८२ श्रावण २५ गते, आईतवार

काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिकाले स्थानीय नेवार समुदायलाई बाजा प्रदान गरेको छ । नेवार समुदायमा प्रख्यात लाखे नाच र जाइजात्रा संरक्षण गर्ने उदेश्यले आवश्यक बाजा गाउँपालिकाले सहयोग गरेको हो ।

लक्षित समुदाय सहयोग कार्यक्रमबाट संस्कृति संरक्षणका लागि एक लाख ५० हजार रुपियाँमा बाजा खरिद गरेर सत्यवती झी स् नेवा समाजलाई प्रदान गरिएको सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले जानकारी दिए । लाखे र गाइजात्रा नेवार समुदायको प्रमुख पर्व हो ।

गाउँपालिकाले दलित र मगर समुदायलाई पनि बाजा सहयोग गरिएको छ । स्थानीय कला संस्कृति र सम्पदा अमुल्य सम्पती भएकाले बर्सेनी रचनात्मक काम हुँदै आएको तरामुले बताए ।

उनले आगामी दिनमा समेत समाज र समुदायलाई सहयोगको निरन्तरता दिने बताए । सत्यवति गाउँपालिका–६ जोहाङ्ग खैरेनीमा ४५ घर परिवार नेवार समुदाय बसोबास रहेको छ ।

पुर्खादेखिको लाखे र गाइजात्रा संस्कृति संरक्षणको लागि आफुहरु बर्सेनी सक्रिय रुपमा मेला उत्सवहरु गरिरहेको नेवार समुदायका अगुवा तथा सत्यवती झि नेवा समाजका सदस्य दिपक श्रेष्ठले बताए ।

यो समुदायको उर्जाकै लागि गाउँपालिकाल सनाई, मादल, लाखे खप्पर, झ्याली ढोलक, सय वाटका चार लाइट, चोमर, घोडा खप्पर लगायतका सामग्री प्रदान गरेको श्रेष्ठले जानकारी दिए ।

खैरेनीमा जनैपूर्णिमाको राती लाखे नाचेर भोलिपल्ट बिहान प्रत्येक नेवार घरमा गाई पुजा गरेर गाइजात्रा निकाल्ले प्रचलन रहेको छ । सवै उमेर समुहका व्यक्तिहरु उत्सवमा सहभागी हुने गरेका छन् ।

पदमलाल र सुर्यलाल श्रेष्ठ नेवार समुदायकै पाका व्यक्ति हो । उनिहरुले थामेको नेवा संस्कृति अबको पुस्तामा पुस्तान्तरणको चुनौति रहेकाले आफुहरु कस्सिएर लागेको समाजका अध्यक्ष यम प्रसाद श्रेष्ठले बताए । खैरेनीमा नागपञ्चमीबाट भाद्र शुक्लपूर्णिमासम्म लाखे नाच्न सुरु गरिन्छ ।

प्रकाशित मिति : २०८२ श्रावण २५ गते, आईतवार


Scroll to Top

Janata Media