घुस प्रकरण : मालपोत प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता

जनता संवाददाता
२०८२ श्रावण २८ गते, बुधबार

काठमाडौँ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गालाई मोहीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि २४ लाख ५० हजार घुस माग गरेको अभियोगमा प्रमुख मालपोत अधिकृतविरुद्ध आरोप पत्र दर्ता भएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीबाट उजुरीका आधारमा अनुसन्धान गर्दै उक्त कार्यालय परिसरबाट दुबै जनालाई सो रकमसहित नियन्त्रणमा लिएको हो। टोलीले आचार्य र राउतको मोबाइल डिभाइस तथा उक्त रकम बरामद गरेको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा उनीहरूद्वारा साविक चाँगुनारायण गाविस वडा नं. ५ ख स्थित १४–४–०–० क्षेत्रफलको जग्गामा मोही बाँडफाँड/नामसारीका लागि सहज वातावरण बनाइदिने बहानामा सेवाग्राहीसँग मिलेमतोमा घुस माग गरिएको पुष्टि भएको आयोगको ठहर छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आरोपीद्वयले पूर्व योजना अनुसार २४ लाख ५० हजार घुस लिएको पुष्टि भएकाले उनीहरूलाई भ्रष्टाचार निवारण ऐनबमोजिमको कसुरमा मुद्दा दायर गरिएको हो। उनीहरूलाई उक्त ऐन अनुसार कैद र बिगो अनुसार जरिवानाको मागदाबी गरिएको छ।

अख्तियारले सम्पत्ति हिनामिना तथा पदको दुरुपयोगजस्ता घटनाप्रति शून्य सहनशीलता अपनाउँदै सत्यतथ्यमा आधारित कारवाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ श्रावण २८ गते, बुधबार


Scroll to Top

Janata Media