छायाँनाथ रारा नगरपालिकामा लगाइएको ताला खुल्यो, प्रशासनिक कामकाज पुनः सुचारु

जनता संवाददाता
२०८२ भाद्र २ गते, सोमबार

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा आइतबारबाट ताला खुलेको छ । नगरपालिकामा गत बुधबारदेखि असन्तुष्ट वडा अध्यक्षहरूले ११ वटा वडामा लगाएको ताला खोलिएको हो ।

नगर प्रमुख विष्णु कुमार भाम र असन्तुष्ट वडा अध्यक्षबीच भएको छलफलमा सहमति नजुटे पनि, नगरपालिकामा ताला लामो समय रहँदा जनताको अत्यावश्यक सेवा प्रभावित हुने भएकाले वडा अध्यक्षहरूले नगरप्रमुखलाई विना सर्त ११ वटा चावी बुझाएसँगै ताला आइतबारबाटै खोलिएको हो।

वडा अध्यक्षहरूले विरोधको कारण नगर प्रमुखमाथि लगाएका आरोपहरूमा – १७औं नगरसभा संचालन गर्ने तर मिलेमतो नगर्ने, वडाका सचिवहरूमाथि हस्तक्षेप, करार कर्मचारी हटाउँदा मापदण्ड नअपनाउने लगायत रहेका थिए। तर नगर प्रमुख विष्णु कुमार भामका अनुसार, ती आरोप कपोकल्पित हुन् र कुनै माग पूरा गर्न नसकिने स्थिति भएकोले वडा अध्यक्षहरूले अन्ततः चावी बुझाएका हुन्।

अधिकारको पक्षमा रहेका वडा अध्यक्षका नेतृत्वकर्ता, वडा नं. २ का अध्यक्ष परेकराज चौलागाइले भने “जनताका अत्यावश्यक सेवा लामो समय अवरुद्ध हुन नदिन चावी बुझाएका हौँ। हाम्रो विरोध र माग यथावत छन्। अब विशेष नगरसभा बोलाएर निर्णय गराउने दवाव दिनेछौँ।”

प्रकाशित मिति : २०८२ भाद्र २ गते, सोमबार


Scroll to Top

Janata Media