मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । नगर प्रमुख विष्णुकुमार भामले बजेट सभामा एजेण्डामाथि छलफल नगराएर छलकपट, जालझेल गरेको आरोप लगाउँदै वडा अध्यक्षहरूले अनिश्चितकालका लागि नगरपालिकामा तालाबन्दी गरेका हुन्।
१४ वडाका अध्यक्षमध्ये ३ जना जिल्ला बाहिर भएकाले ११ जना वडा अध्यक्षले मेयर भामले स्थानीय सरकार सभा सञ्चालन कार्यविधि विपरीत एजेन्डा प्रस्तुत गरेको र आवश्यक छलफल नगराएको भन्दै अनिश्चितकालका लागि नगरपालिका तालाबन्दी गरिएको वडा अध्यक्षहरूले बताएका छन्।
नगरपालिकाबाट अन्य पालिकामा सरुवा भएर जाने वडा सचिवहरूलाई मिलोमोतोमा रमानपत्र दिएकाले सामाजिक सुरक्षा भत्ता र वडाको दैनिक कामकाजमा ठप्प भएकाले तालाबन्दी गर्नुपरेको छायाँनाथ रारा नगरपालिका— २ का वडा अध्यक्ष परेक राज चौलागाईले बताए।
तर नगर प्रमुख भामले आफूले कार्यविधि विपरीत कुनै निर्णय नगरेको बताएका छन् ।







