दाङमा खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु

जनता संवाददाता
२०७९ माघ २१ गते, शनिबार

काठमाडौँ । घोराहीमा लुम्बिनी प्रदेशकै सर्वाधिक राशीको ‘दोस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा नेपाली कांग्रेस दाङको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो ।

घोराहीस्थीत शहीद मञ्चमा भएको प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद कृष्णकिशोर घिमिरेले उद्घाटन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि घिमिरेले प्रतियोगिताले दाङको खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

जिल्लाका दश पालिकाका खेलाडीहरुको सहभागिता रहेको भलिबल प्रतियोगितामा बबई गाउँपालिका र गढवा गाउँपालिकाको भलिबल टिमले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा साविक विजेता तुलसीपुर उपमहानगरपालिकालाई बबई गाउँपालिका टिमले ३–० को सोझो सेटमा हराएको छ । बबईले २५–१६, २५–१५, २५–१८ को सोझो सेटमा जीत हासिल गरेको हो ।

शुक्रवार भएको दोस्रो खेलमा गढवा गाउँपालिकाको टिमले राप्ती गाउँपालिकाको भलिवल टिमलाई ३–१ को सेटमा हराएको थियो । राप्ती गाउँपालिकाको टिमले पहिलो सेट जिते पनि त्यसपछिका खेल लगातार हारेपछि पराजित हुन पुगेको थियो । गढवाले २५–२३, २५–२७, १७–२५, २३–२५ को सेटमा जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु लिग कम नक आउटका आधारमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा साविक विजेता तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, राजपुर गाउँपालिका, बङ्गलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिका र समूह ‘बी’ मा साविक उपविजेता राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका, दंगीशरण गाउँपालिका र घोराही उपमहानगरपालिकाको भलिबल टिमहरु छन् ।

प्रतियोगिताको विजेताले नगद दुई लाख पच्चीस हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाण जित्नेछ । उपविजेताले एक लाख १२ हजार पाँच सय, तेस्रो हुने टिमले ५६ हजार २ सय ५० र चौथो हुने टिमले २८ हजार एक सय ३२ रुपियाँ पुरस्कार पाउने आयोजक नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुन योगीले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा प्रत्येक टिमले दुई जना खेलाडी बाहिर जिल्लाका राख्न पाउने व्यवस्था गरेको छ ।

 

 

प्रकाशित मिति : २०७९ माघ २१ गते, शनिबार


Scroll to Top

Janata Media