काठमाडौँ । आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ ।
गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खीरको मौलिक स्वाद पनि हराउँदै गएको छ । विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खीर बनाएर खाने चलन विकसित हुँदै गएको गाउँका बूढापाकाको गुनासो छ ।
हिजोआज गाउँघरमा पनि रड, बालुवा, सिमेन्ट र इँटाका पक्की निर्माणको क्रम बढ्नाका साथै गाईभैँसी पाल्न बनाइने गोठ पनि हराउँदै गएको छ । भएका गोठमा पनि गाईभैँसी होइन मोटर, मोटरसाइकल र अन्य सवारी साधनको विश्रामस्थल बनेको छ ।
भान्छामा बजारबाट खरिद गरी ल्याइने डेरीको दूधले खीर पाक्न थालेकाले खीरको मौलिक स्वाद विस्थापित हुँदै गएको मालिका गाउँपालिका–६ का टेकबहादुर सिउथानीले बताए । “गाउँमा गाईभैँसी पाल्न छोडिसके, बजारबाट दूध ल्याएर प्रेसर कुकरमा सिठ्ठी लगाएर बनाइएको खीरमा पहिलाको जस्तो स्वाद कहाँ पाउनु”, ६० वर्षीय सिउथानीले भन्नुभयो “दूध, दही र मोहीको ठाउँ कोक, डिउ र फ्यान्टाले लिए । हिजोआजका केटाकेटीलाई खीर कस्तो हुन्छ र के बाट बन्छ भन्ने कुरा पनि थाहैै छैन ।”
यो पनि पढ्नुहोस:







