सुनकोसी–मरिण डाइभर्सन : आजदेखि सुरुङ खनिँदै

जनता संवाददाता
२०७९ आश्विन २८ गते, शुक्रबार

काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग शुक्रबारदेखि टनेल बोरिङ मेसिन (टीबीएम)बाट खन्न सुरु गरिने भएको छ । उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिन जडान गरिसकेको छ ।

कमलामाई नगरपालिका–२, कुसुमटारमा प्लेटफर्म निर्माणको काम पूरा गरेपछि टीबीएम मेसिनमार्फत औपचारिक रूपमा सुरुङ खन्न लागेको हो । उक्त कम्पनीले भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको पनि ठेक्का पाएको छ । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालका अनुसार उक्त प्लेटफर्म निर्माण गरी टनेल बोरिङ मेसिन जडान गर्ने काम सकिएको छ ।

“टीबीएम राख्न हामीले प्रवेश मार्गमा ४० मिटर लामो सुरुङ खनिसकेका छौँ,” उनले भने, “२३० मिटर लामो टनेल बोरिङ मेसिन अट्ने गरी उक्त सुरुङसहित प्लेटफर्म निर्माण गरिएको छ । अब शुक्रबारबाट उक्त मेसिनले १३.३ किलोमिटर सुरुङ खन्दै दुई वर्षमा खुर्कोटमा निस्किने छ ।” पानी बग्ने ५.५ डायमिटर रहने गरी अहिले ६.६ डायमिटरको सुरुङ मेसिनले खन्नेछ । सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपियाँमा ठेक्का पाएको उहाँले जानकारी दिए ।

सुरुङ खन्ने क्रममा कुनै भौगर्भिक समस्या नआए दुई वर्षभित्र खनिसक्ने योजना छ । टीबीएमले आठ÷आठ घण्टाका दरले तीन सिफ्टमा गरी चौबिसै घण्टा सुरुङ खन्ने आयोजना प्रमुख बरालले बताए । आयोजनाका अनुसार सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी उक्त सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

उत्पादित विद्युत् ३७.२ डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडअन्तर्गत नबलपुर सबस्टेसनमा जोडिनेछ । आयोजनाअन्तर्गत निर्माण हुने सुरुङ मार्ग, हेडवक्र्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका आयोजना प्रमुख बरालले बताए। आर्थिक वर्ष २०७७/७८ बाट सुरु भएको आयोजना २०८२/८३ सम्ममा सक्ने लक्ष्य रहेको छ ।

आयोजनाअन्तर्गतका हेडवक्र्स खुर्कोटमा, सुनकोसी नदीमा ब्यारेज र कुसुमटारमा पावर हाउसलगायतका भौतिक संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरको टेन्डर भई ११ वटा कम्पनीले भाग लिएकोमा नौवटा कम्पनी छानिएका छन् । फेरि नौवटा कम्पनीबीच प्रतिस्पर्धा गराई निर्माण कम्पनी छानिनेछ । त्यसका लागि ४५ दिने सूचना निकालिसकिएको आयोजनाले जनाएको छ ।

पाँच वर्षभित्र आयोजना निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको र करिब ४६ अर्ब कुल लागत रहने अनुमान गरिएको आयोजनाले जनाएको छ । बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु-याउने रहेको छ ।

सुनकोसीको पानी सुरुङमार्फत मरिण खोलामा खसालेपछि ४४ किलोमिटर बगेर बागमती नदीमा गई मिसिन्छ । हाल बागमती सिँचाइ आयोजनाले आफ्नो कमान्ड क्षेत्रमा अहिले करिब ४५ हजार छ सय हेक्टरमा सिँचाइ सुविधा पु-याएको र एक लाख २२ हजार हेक्टरको बाँकी जग्गामा सुनकोसीको पानीले सिँचाइ सुविधा पु-याउने योजना रहेको आयोजना प्रमुख बरालले प्रस्ट पारे ।

गोरखापत्र दैनिकमा खबर छ

प्रकाशित मिति : २०७९ आश्विन २८ गते, शुक्रबार


Scroll to Top

Janata Media