सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश

जनता संवाददाता
२०७९ कार्तिक १८ गते, शुक्रबार

काठमाडौं । एक नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

शुक्रबार वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, काठमाडौंले १४ कात्तिकमा करणी सम्बन्धी कसूरमा १० देखि १२ वर्ष जेल सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गराएको थियो । मंगलबारदेखि त्यसमाथि भएको थुनछेक बहसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

आदेश अनुसार उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीको भनाई छ । थुनछेक बयानका क्रममा लामिछानेले जाहेरीकर्ताले ‘अरु कसैको उक्साहटमा आरोप लगाएको’ दाबी गरेका थिए ।

उनका पक्षका वकिलहरुले बलात्कार आरोपभन्दा पनि पीडित नाबालिग हुन् वा होइनन् भन्ने विषयमा बहस गरेका थिए । सन्दीपका वकिलहरुले पीडितले जन्ममिति सच्याएको र उनी नाबालिका नभएको जिकिर गरेका थिए ।

तर सरकारी वकिलहरुले उमेरको कुरा सहायक विषय भएको बताउँदै मुख्य कुरा बलात्कार भएको प्रमाणहरुले स्थापित हुने जिकिर गरेका थिए । लामिछाने स्वयम्ले बयानमा पीडित भनिएकी किशोरीसँग भक्तपुर घुम्न गएर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बसेको स्वीकारेका छन् ।

होटलको क्लोज सर्किट ९सीसी० क्यामरा फुटेजबाट पनि यो पुष्टि भएको बताउँदै सरकारी वकिलले बलात्कार पुष्टि हुने दाबी गरेको थियो ।

लामिछानेले कोठामा सँगै बसे पनि कुर्सीमा निदाएको र बलात्कार नगरेको दाबी गरेका थिए । तर पीडितले राति दुई पटक आफूलाई लामिछानेले जबरजस्ती करणी गरेको दाबी गरेकी छन् । दोस्रो पटक रुँदै कराउन थालेपछि लामिछानेले कुटपिट पनि गरेको उको भनाई छ ।

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेको दुईदिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

पक्राउ पूर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय टोलीको कप्तानबाट निलम्बन गरेको थियो । निलम्बित भएपछि उनले नेपालको कानून मान्ने बताउँदै स्ट्याटस लेखेका थिए ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा जमैका रहेका उनी एक महिनासम्म सम्पर्कविहीन रहे । इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएपछि उनी २० असोजमा नेपाल आए र विमानस्थलबाटै पक्राउ परेका थिए ।

लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । जिल्ला अदालत, काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार आदेससँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १८ गते, शुक्रबार


Scroll to Top

Janata Media