सत्ता साझेदार दलहरुको संयोजकमा ओली, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति

जनता संवाददाता
२०७९ पुष १४ गते, बिहीबार

काठमाडौं । सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन् । बिहीबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रम बनाउने समितिको संयोजक समेत तोकेको छ ।

प्रत्येक दलबाट उक्त समितिमा १-१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने गृहमन्त्री लामिछानेले जानकारी दिए । उनले मन्त्रिपरिषद् विस्तारका विषयमा पनि सामान्य छलफल भएको बताए । उनले मन्त्रिपरिषद्मा क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिने बताए । मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको उनको भनाइ थियो ।

मन्त्रिपरिषद् विस्तार हुन समय लाग्नसक्ने मन्त्री लामिछानेको भनाइ थियो । संसदबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेको बताइएको छ ।

त्यस्तै, प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकार गठनबारे पनि दलहरूबीच छलफल भइरहेको बताइएको छ ।

ओली नेतृत्वको कार्यदलको बैठक भने भोलिदेखि नै हुने लामिछानेले जानकारी दिए । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको ३–३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी छ ।

प्रकाशित मिति : २०७९ पुष १४ गते, बिहीबार


Scroll to Top

Janata Media