उपसचिवविरुद्ध एक करोड १५ लाखको भ्रष्टाचार मुद्दा

जनता संवाददाता
२०८० बैशाख १९ गते, मंगलवार

काठमाडौं । यातायात व्यवस्था कार्यालय, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्व एक करोड १५ लाख २९ हजार १९३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्धको मुद्दा दायर भएको जानकारी गराएका हुन् ।

सवारी चालक अनुमतिपत्र बागमती सुकेधारा कार्यालयका भट्टराईले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०३८ साउन १ गतेदेखि २०७५ मंसिर मसान्तसम्मको जाँच अवधिमा प्राप्त गरेको कुल आय एक करोड ९२ लाख एक हजार ९२२ रुपियाँ देखिएको तर व्यय तीन करोड सात लाख ३१ हजार ११६ रुपियाँ रहेको विज्ञप्तिमा उल्लेख छ।

आयबाट व्यय घटाउँदा हुन आउने एक करोड १५ लाख २९ हजार १९३ रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र भट्टराईले अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको आयोगको दाबी छ।

भट्टराईमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको अयोगले जनाएको छ।

प्रकाशित मिति : २०८० बैशाख १९ गते, मंगलवार


Scroll to Top

Janata Media