
चक्र दानी, हुम्ला । २०१७ सालमा स्थापना भएको हुम्लाको अदानचुली गाउँपालिका वडा नं ३ मा अवस्थित श्री सुर्योदय माध्यामिक विद्यालय विगत दुई वर्षदेखि विज्ञान शिक्षक विहिन छ । नक्कली शैक्षिक प्रमाण पत्र बुझाएर शिक्षक पदमा नियुक्ति लिएको भन्दै शिक्षक जितेन्द्र कुमार झा निलम्बनमा परेपछि उक्त विज्ञान शिक्षक पद रिक्त भएको थियो ।
सप्तरी घर भएका जितेन्द्रले सूर्योदय उच्च माध्यमिक विद्यालय, हुम्लामा शिक्षक सेवा आयोगको सिफारिस पत्र अनुसार माध्यमिक तहको तृतीय श्रेणीको विज्ञान विषयको शिक्षकको रुपमा ०६२ साल माघ १७ गते नियुक्ति लिएका थिए ।
उनले नियुक्तिको समयमा बुझाइएको शिक्षक अध्यापन अनुमति पत्र फर्जी भएको तथ्य बाहिर आएको हो । उनले शिक्षा शास्त्र विषयमा अध्यापन नगरेको र दश महिने शैक्षिक तालिम पनि नलिएको खुलेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उनीविरुद्ध उजुरी परेपछि यस्तो तथ्य बाहिर आएको हो । उनले नक्कली अध्यापन अनुमति पत्र लिई ६५ साल वैशाख १५ बाट महादेव माध्यमिक विद्यालय दार्मा, हुम्लामा माध्यमिक तहको विज्ञान विषयको शिक्षक पदमा नियुक्ति लिएका थिए ।
यस विषयमा विद्यालयका निवर्तमान प्रधानाध्यापक सुरबिर शाहीले विगत दुई वर्षदेखि विज्ञान विषय पढाई नभएको र स्थानीय तहमा पहल गर्दा पनि सरकारले कुनै पनि व्यवस्था गर्न नसकेको भन्दै गुनासो व्यक्त गरे । उनले भने, ‘तत्कालिन विज्ञान शिक्षक जितेन्द्र कुमार झा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि स्वत: उक्त पद रिक्त रह्यो । त्यसपछि कुनै पनि विकल्प दिन सकिएन । बारम्बार यो विषयका सम्बन्धमा स्थानीय निकायमा कुरा राख्दा पनि कुनै चासो दिईएन ।’
त्यस्तै उक्त विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले दुई वर्षदेखि आफुहरुले विज्ञान विषय पढ्न नपाएको गुनासो गरेका छन् भने शिक्षकको व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।
कक्षा ९ मा अध्ययनरत छात्र सर्जन कटुवालले भने, ‘हामीले विज्ञान विषय पढ्न नपाएको पनि धेरै भयो । अहिले महेन्द्र पाण्डे सरले निशुल्क पढाईराख्नु भएको छ । पढाई पनि राम्रै भएको छ ।’
त्यस्तै कक्षा १० मा अध्ययनरत छात्रा विजयकौँरा भण्डारीले विज्ञान विषय पढ्न नपाउँदा पढाईमा धेरै असर परेको र शिक्षक नियुक्ति छिटो गर्न पनि सम्बन्धित निकायमा आग्रह गरेकि छिन् ।
त्यस्तै कक्षा १० मा अध्ययनरत छात्र कुशल परियारले दुई वर्षदेखि हामीले विज्ञान विषय पढ्न नपाएको र अहिले भने महेन्द्र पाण्डेले निशुल्क पढाएको बताए ।
यसैगरी अधिकांश विद्यार्थीहरुले विज्ञान शिक्षक नभएकै कारण पढाईमा प्रत्यक्ष असर परेको र दुई वर्ष भईसक्दा पनि सम्बन्धित निकायले अर्को व्यवस्था गर्नुको सट्टा कुनै पनि किसिमको चासो नदेखाएको गुनाशो गरेका छन् ।
४ महिनादेखि निशुल्क पढाउँदै महेन्द्र
अहिले भने विगत ४ महिनादेखि अदानचुली ४ निवासी महेन्द्र पाण्डेले निशुल्क पढाईरहेका छन् । उनले विज्ञान शिक्षकको अर्को व्यवस्था नहुन्जेलसम्मका लागि आफुले निशुल्क पढाउने पनि बताएका छन् ।
जनता मिडियासँग उनले भने, ‘खासमा म विद्यालयको शैक्षिक स्थिति बुझ्न आएको थिँए । यस क्रममा विद्यार्थीहरुसँग अन्र्तक्रिया गर्दा फरक खालको समस्या देखाए । तत्काल मैँले जबसम्म यो विद्यालयको विज्ञान शिक्ष्कको व्यवस्था हुँदैन तबसम्म निशुल्क पढाउने निर्णय गरेँ ।’
विज्ञान जस्तो अत्यन्तै महत्वपूर्ण विषय निरन्तर दुई वर्ष पढाई नहुनु सम्बन्धित निकायको कति सम्मको बेवास्ता र लापरवाही हो ? शिक्षक हुँदाहुँदै पनि वर्षको ३ महिना पठन पाठन हुने हुम्ला जस्ता थुप्रै विकट जिल्लाका विद्यालयमा झनै शिक्षक नै नहुनु कत्तिको विद्यार्थीको भविस्यमाथिको खेलवाड हो ? यो तपाईँ हामीले नै मुल्याङ्कन गर्ने पाटो हो ।
भिडियो हेर्नुहोस्: