टुहुरा बालबालिकालाई आवास निर्माण

जनता संवाददाता
२०८१ माघ १७ गते, बिहीबार

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका युवा र स्थानीय मनकारी युवाको सहयोगमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, झरझरामा टुहुरा दुई बालबालिकालाई आवास निर्माण गरी हस्तान्तरण गरिएको छ ।

लालबन्दी १५ कै चिसापानीमा जिर्ण घरमा बसोवास गर्ने १३ वर्षीया सुमिना वाइवा र उनको भाई सात वर्षका सुमित वाइवाको लागि झरझरामा जस्ताले छाएको दुई कोठे पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो । सुमिना र सुमितका बुवा भोजबहादुर वाइवाको प्राणघातक रोग क्यान्सरबाट दुुई वर्षअघि निधन भएको थियो ।

उनीहरुका आमा एक वर्षअघि वैदेशिक रोजगारीमा गएदेखि सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् । सहाराविहीन बनेका बालबालिकालाई तीन लाख २५ हजार ६०० रुपियाँ लागतमा पक्की घर निर्माण गरेर बिहीबार एक कार्यक्रमकाबिच लालबन्दी १५ का वडाध्यक्ष गोरखबहादुर बलको रोहबरमा हस्तान्तरण गरिएको हो ।

सुमिना र सुमितको घर निर्माणका लागि लालबन्दी नगरपालिका–१६, परवानीपुरका राजु थापा र सरोजकुमार खड्काले पाँचधुर जग्गा, गैरआवासिय नेपाली सङ्घ (जापान) मा आवद्ध युवाले दुुई लाख रुपियाँ, लालबन्दी नगरपालिका–१२, लालभित्तीका उमेश थोकरले ५२ हजार रुपियाँ बराबरको झ्याल, ढोका र उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले झ्यालमा लाग्ने ग्रिल सहयोग गरेका छन् । अन्य दुुई दर्जन युवाले पनि घर निर्माणमा सकेको आर्थिक सहयोग गरेका छन् ।

साहाराविहीन सुमिना र सुमितका लागि लालबन्दी १५ कै अमृतबहादुर वाइवा र बिक्रम खड्काले पहल गरेर पक्की घर निर्माण गराइदिएका हुन् । आवास हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सदस्य हेमबहादुर कार्की, उद्धव मोक्तान, उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकी, लालबन्दी १० चन्द्रपुर निवासी समाजसेवी उदय पाख्रिनलगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २०८१ माघ १७ गते, बिहीबार


Scroll to Top

Janata Media