समाजवादीमा नेपाल-खनाल विवाद चुलियोः युवा संघमा झलनाथको एकलौटी

जनता संवाददाता
२०८० भाद्र १८ गते, सोमबार

काठमाडौं । पछिल्लो केन्द्री कमिटी बैठकमा प्रस्तुत राजनीति प्रतिवेदनबाट औपचारिक रुपमा शुरु भएको अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल बीचको विवाद युवा संघको सचिवालय गठनमा पुग्दा चुलिएका छ ।

सचिवालयभित्र अल्पमतमा परेका अध्यक्ष माधव नेपाल पक्ष कमजोर देखिएपछि युवा संघको नेतृत्व विवादमा झलनाथ पक्षले एकलौटी गरेको छ ।

भदौ ९ गते युवा संघ नेपालले केन्द्रीय सचिवालय बैठक बोलायो । उक्त बैठकबाट तत्कालीन अध्यक्ष नरेश शाही बिदा हुनुपर्ने र आयोजक कमिटी बन्नुपर्ने थियो ।

युवा संघको संयोजकका आकांक्षीमा माधव नेपालका भाञ्जा नितेश पौडेल र म्याग्दी जिल्ला पार्टी अध्यक्षसमेत रहेका कृष्ण विकको दाबी थियो । विकलाई बिदा हुने अध्यक्ष नरेश शाही, महासचिव दीपक जिएमहरूको साथ थियो । पौडेललाई युवा संघकी इञ्चार्ज दिलु पन्त, गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङे) सहितको साथ थियो ।

सचिवालय सदस्य क-कसलाई मान्ने भन्ने विवाद सुल्झिन नै समय लाग्यो । पहिला पार्टीको संगठन विभागका सचिव लक्ष्मण केसीको संयोजकत्वमा एउटा कार्यदल बनाइयो ।

उक्त कार्यदलले दुवै पक्षले तयार पारेको नामलाई काँटछाँट गर्दै सचिवालयको नामावली तय गर्‍यो । त्यसअनुसार भदौ ९ गते बैठक बस्ने भनी सबैलाई खबर भयो । तर, महाधिवेशन आयोजक कमिटीको संयोजक बनाउने विषयमा भएको पूर्व छलफलका क्रममा दुवै पक्षको दाबी उत्तिकै कायम हुँदा निर्णय हुन सकेन ।

बैठक बस्नुअघि नै गञ्जागोल शुरु भयो । सचिवालय बैठक बसेको भए र मतदानबाट आयोजक कमिटी चयन गर्ने स्थिति हुँदा नितेश पौडेल बलियो हुन्थे । त्यसैले त्यो अवस्था नआओस् भन्नका लागि नरेश शाही पक्षले कालोपुलमा र पौडेल पक्षले नयाँ बानेश्वरमा अलग अलग भेला बोलाए ।

दुवै भेलाका निम्ति सचिवालय सदस्यहरू आ–आफ्नो रुचिअनुसारको ठाउँमा जुटे । यदि ती भेला सम्पन्न भएको भए अलग अलग आयोजक कमिटी बन्ने अवस्था हुन्थ्यो । यस्तो स्थिति नआओस् भन्नका लागि माधव नेपाल र झलनाथ खनालकै सक्रियतामा दुवै भेला स्थगित गराइयो । रमाइलो के भयो भने नरेश शाही पक्षले कालोपुलमा राखेको भेलामा गुन्डा नाइके चक्रे मिलन पुगेका थिए भने पौडेल पक्षको भेलामा दीपक मनाङे ।

आफ्नै भाञ्जा अध्यक्षको आकांक्षी भएपछि माधव नेपाल रक्षात्मक अवस्थामा पुगे । किनभने, पार्टीको अध्यक्षले भाञ्जाका निम्ति देखादेखी सहज हुने गरी केही गर्न र भन्न मिल्ने अवस्था भएन । उनले मोर्चा संगठनका इञ्चार्ज डा. विजय पौडेललाई ‘मिलाएर गर्नुस्’ मात्रै भनेका थिए ।

नेपालले छलफल र संवादबाट मिलाउने कुरामा अन्तिमसम्म लाग्न, यदि नमिलेमा सचिवालय बैठकको बहुमतका आधारमा संयोजक चयन गर्न भनेका थिए ।

यसपछि पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव जगन्नाथ खतिवडाहरू युवा संघलाई माधव नेपालको पञ्जाबाट जसरी पनि मुक्त गर्ने नीतिका साथ सक्रिय भए । यद्यपि, पाण्डे ज्वरो आएर घरमै आराम गरिरहेका थिए ।

उनीहरू पार्टीका हरेक संरचनामा झलनाथ पक्षको वर्चस्व निर्माण गर्ने अभियानमै लागेको नेकपा एसका नेताहरू बताउँछन् । युवा संघको अलग अलग भेला हुने कुरामा डा। विजय पौडेल र जगन्नाथ खतिवडाहरुको सक्रियता रहेको बताइन्छ ।

बैठक बस्दा बहुमतका आधारमा संयोजक छान्नुपर्ने स्थितिमा पौडेल हुने पक्कापक्की भएपछि उनकै सल्लाहमा नरेश शाहीहरूले कालोपुलमा भेला बोलाए । उक्त पक्षले भेला बोलाएपछि पौडेल पक्षले पनि भेला बोलायो ।

यस्तो अवस्थामा दुईवटा आयोजक कमिटी बन्ने भयो भन्दै दुवै भेला स्थगित गर्न लगाउने र संयोजक, सहसंयोजक चयन गर्ने अधिकार पार्टीको सचिवालयले लिने गरी उनीहरूले रणनीति बनाए ।

माधव नेपालले आपसी समझदारीबाट संयोजक छान्न सम्भव नभएको अवस्थामा सचिवालय बैठक बस्न दिने र मतदान गरी बहुमतका आधारमा संयोजक छान्न निर्देशन दिए ।

यसअघि प्रेस संगठनको अधिवेशनमा माधव नेपाल पक्षका पत्रकारहरूलाई चुनाव हराएर संगठनबाट बिदा गर्ने योजनाका साथ पदाधिकारी निर्वाचन भयो । तर, हराउन खोजिएका मुख्य व्यक्तिमध्ये अध्यक्ष र महासचिवमा माधव नेपालकै उम्मेदवारहरूले जित्न पुगे ।

त्यही डरले उक्त समूह युवा संघको सचिवालयको बहुमतका आधारमा निर्णयमा पुग्न तयार भएन । यसका निम्ति महासचिव घनश्याम भुसाललाई समेत तयार पारियो ।

भदौ १० गते बिहानैदेखि मीन भवन, आलोकनगरस्थित पार्टी कार्यालयमा सचिवालय बैठक बस्यो । माधव नेपाल र उनको पक्षका नेताहरूले बोलाएको बैठक बस्न दिने र त्यही बैठकको बहुमतले गर्ने निर्णय मानेर जाने कुरा उठायो ।

तर, त्यहाँ माधव नेपाल आफैँ अल्पमतमा परे । उनको पक्षमा उपाध्यक्ष प्रमेश हमाल, जयन्ती राई, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर, एकजना सचिव मात्र भए । अर्को पक्षमा झलनाथ खनालसहित उपाध्यक्ष बेदुराम भुसाल, राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, विजय पौडेललगायत भए ।

बहुमत नरेश शाही पक्षको उम्मेदवारका पक्षमा थियो । बैठकमा एक पक्षबाट गरिएको मुख्य तर्क थियो, केपी ओलीको व्यक्तिवाद विरुद्ध विद्रोह गरेको भन्ने, अनि भाञ्जालाई युवा संघको अध्यक्ष बनाउन मरिहत्ते गर्ने रु

अर्को पक्षको तर्क थियो, ‘संगठनको अध्यक्ष हुने हैसियत बनाएको मान्छेलाई पार्टी अध्यक्षको नाता परेको नाममा रोक्न पाइँदैन । को मान्छेसँग कसको के नाता पर्छ भन्ने नाममा नेतृत्व चयन रोक्ने हो भने माधव नेपालको नाता पर्नेजतिले पार्टी छाडेर जाऊँ भन्नुपर्‍यो । हैन भने युवा संघको सचिवालयका बहुमत सदस्यले गरेको निर्णय मान्नुपर्‍यो ।’

तर, बेदुराम र घनश्याम भुसालले नै माधव नेपालको इच्छाअनुसारको भूमिका नखेलिदिँदा खेल खत्तम भयो । उनलाई बैठकमा बहुमतको निर्णय मान्ने कि नमान्ने भनी र्‍याखर्‍याख पारियो । माधवले ‘बहुमतलाई मान्छु’ भन्दा त्यस्तो निर्णय भएको हो ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते, सोमबार


Scroll to Top

Janata Media