
काठमाडौँ । रोनाल्डोले मेस्सीसँगको प्रतिद्वन्द्विता अब समाप्त भएको बताएका छन् । किनकि, आफूहरू दुवै जनाले युरोपेली क्लब छोडिसकेकाे राेनाल्डाेकाे तर्क छ । पोर्चुगलबाट युरोपेली च्याम्पियनसिप क्यालिफायरकाे तयारीका बेला राेनाल्डाेले मेस्सीदेखि आफू साउदी जाँदा खेप्नुपरेका टिप्पणीसम्म कुरा पत्रकारसित गरे ।
उनी अहिले साउदी अरबको अल-नासर र मेस्सी अमेरिकाको इन्टर मियामीबाट खेलिरहेका छन् ।
‘प्रतिद्वन्द्विता जारी छ भन्ने मलाई लाग्दैन । प्रशंकलाई यो मन परेकाे थियाे, याे कुरा राम्राे थियाे । क्रिस्टियानो रोनाल्डोलाई मन पराउनेहरूले लियोनल मेस्सीलाई घृणा गर्न आवश्यक छैन । उनीहरू दुवै उत्कृष्ट हुन् । उनीहरूले फुटबलको इतिहास फेरिदिए’, ३८ वर्षे रोनाल्डोले भने ।
रोनाल्डोले रियल मड्रिड र मेस्सीले बार्सिलाेनाबाट खेलेर आफ्नो करिअरको धेरै समय स्पेनमा बिताए । त्यसैले पनि खेलाडी र प्रशंसकबीच प्रतिद्वन्द्विता बढ्न गयो । स्पेनमा खेल्दा यो जाेडी खेलमा सधैं छाइरह्यो ।
मेसीले प्रभावशाली ४ च्याम्पियन्स लिग उपाधि दिलाएर ब्लोग्राना (बार्सिलाेनाकाे निक नेम) सँगको आफ्नो समय टुङ्ग्याइदिए । तर रोनाल्डोले सन् २०१६ देखि २०१८ सम्म लस ब्ल्याङकोस (रियल मड्रिडकाे स्पेनिस नाम) लाई लगातार ३ अभूतपूर्व जितसहित कुल ५ उपाधि दिलाएर स्पेनिस फुटबल छोडे । मेस्सीले १० लालिगा उपाधि पनि जोडे भने रोनाल्डोले २ जिते ।
रोनाल्डोले भने, ‘संसारभर हाम्रो सम्मान गरिन्छ, यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । उनी आफ्नो बाटोमा हिँडिरहेका छन्, म आफ्नो बाटोमा हिँडिरहेको छु । उनको (मेस्सी) ठाउँमा उनले राम्रो खेले । हामी अघि बढ्छौँ, विरासत जारी रहन्छ । तर, यसलाई म प्रतिद्वन्द्विताका रूपमा हेर्दिनँ ।’