अन्तिम ओभरमा ओमानसँग नेपालको हार, नेपाल समूह उपविजेता

जनता संवाददाता
२०८० कार्तिक १६ गते, बिहीबार

काठमाडौँ । आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपाल बिहीबार रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसोसिएट टिमहरूमा बलियो मानिएको ओमानलाई कप्तान रोहित पौडेलले टस जितेपछि पहिले ब्याटिङ गर्ने निम्तो दिएका थिए ।

ओमानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १४५ रन बनाएपछि रोहितको निर्णय सही साबित पनि भयो । नेपालले जवाफमा अन्तिम बलमा १४० रनमा अलआउट भयो ।

सनसनीपूर्ण अन्तिम ओभर
लक्ष्य पछ्याउने क्रममा सुरुदेखि नै पछाडि परेको नेपालसमक्ष खेल जित्न अन्तिम ओभरमा ओमानका नम्बर एक बलर विलाल खानको बलिङमा २६ रन बनाउनुपर्ने कठिन समीकरण बनेको थियो । तर दीपेन्द्रसिंह ऐरी घाइते भएपछि यस प्रतियोगितामा खेल्ने मौका पाएका २० वर्षीय विवेक यादवले सुरुका तीन बलमा १९ रन लिएर नेपाललाई चमत्कारी जित नजिक पुगाएको थियो । विवेकले पहिलो बलमा छक्का प्रहार गरेर आशा जगाए ।

बिलालले अर्को बल वाइड फाले । विवेकले तेस्रो र चौथो बलमा पुनः छक्का प्रहार गरेपछि नेपाल जितको नजिक पुग्यो । तर अर्को छक्का प्रहार गर्ने चक्करमा विवेक आउट भए । त्यसपछि अन्तिम बलमा जितका लागि करणले छक्का लगाउनु पर्ने स्थिति आएको थियो । तर करण छक्का प्रहार गर्ने प्रयासमा आउट हुनुभयो र नेपालले चमत्कार गर्न सकेन ।

युएइलाई हराउनुपर्ने
यस नतिजासँगै नेपालले समूह एकको उपविजेताको हैसियतमा सेमिफाइनल खेल्ने भएको छ । नेपालले शुक्रबार अन्तिम चारमा बलियो संयुक्त अरब इमिरेट्ससँग खेल्नेछ । सो खेलमा जित हासिल गर्ने टिम विश्वकप टी २० मा चयन हुनेछ । आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोली सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टी–२० अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुँदैछ ।

युएईले बिहीबार नै माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई २२ रनले हराएर समूह बी विजेताको हैसियत प्राप्त गरेको थियो । युएई ले समूह ‘बी’ मा तीनै खेल जितेको छ ।

लड्खडाएको ब्याटिङ
नेपालको जवाफ सही हुन सकेन । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले सुरुमा आफ्नो स्वभावअनुसार १८ बलमा तीन छक्का र एक चौकासहित बनाएको २६ रन र विवेकले अन्तिम ओभरमा विस्फोटक ब्याटिङसहित २४ बलमा बनाएको ३९ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेखलायक प्रदर्शन गर्न सकेनन् । प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख पाँच रनमा विलाल खान र वन डाउन क्रिजमा आएका सोमपाल कामी १२ रनमा आउट भए ।

यी दुवै ब्याट्सम्यानले जीवनदान पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् । त्यसपछि कुशल मल्ल १०, कप्तान रोहित पौडेल १२, सन्दीप जोरा १२, गुल्सन झा ३, सन्दीप लामिछाने दुई रनमा आउट भए । करण ११ बलमा १५ रन बनाएर आउट हुनुभयो । अविनाश एक रनमा अविजित रहे । ओमानका लागि विलालले सर्वाधिक तीन विकेट लिए । सकिल अहमद, मेहरान खान, अकिब इलियासलले दुई–दुई तथा कप्तान जिसन मक्सुदले एक विकेट लिए ।

ओमानको सम्माजनक स्कोर
नेपालका बलरहरूको सटिक बलिङले ओमानको पालि पनि ठुलो हुन सकेन । ओमानका लागि कप्तान जिशान मक्सुदले बनाएको सर्वाधिक रन पनि ३२ मात्र थियो । मक्सुद २६ बलमा तीन छक्का र एक चौका प्रहार गरी आउट भएनन् । यद्यपि ओमानलाई सङ्घर्ष गर्न मिल्ने सम्मानजनक स्कोरसम्म तल्लो क्रमका ब्याट्सम्यान नसिम खुसी र सकिल अहमदले पुगाउनुभयो । नसिमले १४ बलमा दुई चौका र दुई छक्कासहित २५ रन बनाए ।

सकिदले १७ बलमा अविजित २२ रन बनाए । उनले करण केसीले फालेको अन्तिम ओभरमा १७ रन बटुलेका थिए । अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । सकिल अलराउन्ड खेलले म्यान अफ दि म्याच पनि बने ।

करण केसीले पहिलो ओभरमा नै कश्यप प्रजापतिलाई आठ रनमा आउट गरेर नेपालको सुरुआत राम्रो पारे । त्यसपछि सोमपाल कामीले लगातार चार ओभरको स्पेल फालेर शीर्ष क्रमका दुई ब्याट्सम्यान अकिब इलियासलाई दुई र शोयब खानलाई शून्यमा पवेलियन फर्काए ।

यसबिच गुलसन झाले पनि प्रतीक अथवाले ९२४ रन० को विकेट लिएपछि ओमान समस्यामा परेको थियो । नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने पनि आफ्नो तेस्रो ओभरमा मेहरान खान ९०० र आयान खानलाई लगातार बलमा आउट गरेर आफ्नो प्रभाव जमाएका थिए । करणले सर्वाधिक तीन विकेट लिए । यद्यपि उनी ४३ रन खर्चेर सबभन्दा बढी खर्चालु पनि बने । नेपालका लागि अविनाश बोहराले पनि एक विकेट लिए ।

सोमपालद्वारा अर्धशतक
सोमपालले शोएब खानलाई बोल्ड गर्दै टि २० अन्तर्राष्ट्रियमा ५० औं विकेटको कोशेढुङ्गा पूरा गरेका छन् । सोमपाल ५० टि २० अन्तर्राष्ट्रिय विकेट लिने नेपालका चौथो बलर बनेका छन् । यसअघि, सन्दीप लामिछाने, करण र अभिनासले पनि टि २० अन्तर्राष्ट्रियमा ५० विकेटको कोशेढुङ्गा छोइससकेका छन् ।

‘ब्याटिङले निराश बन्यौँ’
नेपालका कप्तान रोहित पौडेलले ब्याटिङ अपेक्षाअनुरूप नहुँदा खेल जित्न नसकेको बताए । उनले भने, “विवेकले धेरै राम्रो पालि खेल्नुभयो । टस जितेपछि खेल जित्ने राम्रो अवसर पाएका थियौँ । बलरहरूको सहयोगमा ओमानलाई सामान्य स्कोरमा पनि सीमित पार्‍यौँ । तर ब्याटिङ अपेक्षाअनुरूप भएन । एक राम्रो साझेदारीले पनि जित प्राप्त हुन्थ्यो ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते, बिहीबार


Scroll to Top

Janata Media