हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ कल्खेमा ३ वर्ष अगाडी बर्थिङ्ग सेन्टर र स्वास्थ्य क्लिनिकको छुट्टाछुट्टै उपभोक्ता समिति मार्फत निर्माण भएको भवनको रकम वितरण गरिएको छ । गत फाल्गुन ६ गते, आईतवार जनता मिडियामा भवन बने तर कामदारले पारिश्रमिक पाएनन्, भवन बेवारिसे ! भन्ने शिर्षकमा समाचार प्रकाशन भएपछि कामदारलाई पारिश्रमिक वितरण गरिएको हो ।
बर्थिङ्ग सेन्टरको कामदारलाई वितरण गर्न बाँकी रकममध्ये करिब २ लाख रुपैँया वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष मक्क महताराले बताए । ‘खोदानमा र समान्य काममा लागेका लेवरलाई पैसा दिईसकेका छौँ । कोही कामदारले हाजिर तल माथि भएको भन्दै कामदारले लिन मानेका छैनन् । ढुवानीको वितरण गर्न बाँकी छ । त्यो पनि छिट्टै गछौँ ।’ जनता मिडियासँग उनले भने । ढुङ्गाको रकम दिन बाँकी रहेको उनले बताए ।
त्यस्तै स्वास्थ्य क्लिनिकका कामदारहरु सबैलाई पारिश्रमिक दिईसकेको स्वास्थ्य क्लिनिक उपभोक्ता समितिका अध्यक्ष बुद्धि महताराले जानकारी दिए । ‘लगभग सबै कामदारहरुलाई पारिश्रमिक दिईसकेका छौँ । कोही बाँड्ने बेला उहाँहरु नभएर छुट्नु भएको होला । नत्र सबैलाई दिईसकेका छौँ ।’ जनता मिडियासँग उनले भने ।
यसरी समाचार प्रकाशन भएपछि मात्रै पारिश्रमिक वितरण हुनु आफैमा दुःखद कुरा हो । तर पनि ३ वर्षदेखि कामदारले पारिश्रमिक पाएका थिएनन् । जनता मिडियामा स्थलगत रिर्पोटिङ्ग सहित समाचार प्रकाशन भईसकेपछि कामदारले पारिश्रमिक भने पाएका छन् ।
भिडियो हेर्नुहोस्ः