काठमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह ‘एच’ को दोस्रो चरणको खेलमा नेपालले आज ९मङ्गलबार० साँझ यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ः०० बजे सुरु हुने खेलमा नेपालले तुलनात्मक रूपमा बलियो टोली यमनलाई हराउने योजनामा छ । एक साता अघि समूहको पहिलो खेलमा संयुक्त अरब इमरिेट्स (यूएई) सँग उसैको मैदानमा ४ ,० गोलले पराजित भएको नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो ।
यमन पहिलो खेलमा बहराइनसँग घरेलु मैदानमा २,० गोलले पराजित भएको थियो । त्यसैले आज नेपाल र यमन दुवै पहिलो जित निकाल्दै अङ्क जोड्ने अभियानका छन् । फिफा वरीयतामा यमन नेपालभन्दा माथि छ । नेपाल एक सय ७३औँ र यमन एक सय ७३औँ स्थानमा छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अघिल्ला खेलको नतिजालाई बिर्सिएर यमनलाई हराउने बताउनुभएको छ । यसअघिका भिडन्तमा यमन नेपालविरुद्ध हावी नै देखिएको छ । यमनसँग अहिलेसम्म चार खेल खेलेको नेपालले एउटै खेल जित्न सकेको छैन ।
पछिल्लो पटक नेपालले सन् २०१९ को एसिया कप छनोट खेलमा यमनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । तर कतारको दोहामा खेलिएको दोस्रो लेगमा नेपाल २,१ गोलले पराजित भएको थियो ।
हामी विगतको नतिजालाई विर्सिएर यमनसँग स्पष्ट जित निकाल्न चाहन्छौँ, घरेलु समर्थकलाई आशा दिलाउनका लागि समै खेलाडीले राम्रो खेल्ने आशा छ,’’ सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले भने।
यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले अघिल्लो चरणमा स्थान सुरक्षित गर्न पनि नेपाललाई यमनसँगको खेल महत्त्वपूर्ण रहेको बताए । उहाँले यमनलाई हराउन आफूहरूले राम्रो तयारी गरेको पनि बताए ।
यता यमनका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोपले नेपाललाई सहज रूपमा नलिने बताए। ‘‘नेपालले युएईविरुद्ध सम्मानजन प्रदर्शन गरेकाले तुलनात्मक रूपमा नेपाल कमजोर छैन । त्यसैले नेपालसँग खेल्न सजिलो छैन । नेपाली टोली एकदमै राम्रो छ । नेपालले लाओसलाई हराएर दोस्रो चरण पुगेको खेल हामीले हेरेका छौँ । युएईसँगको खेल पनि नेपालले राम्रो खेल्यो । फरक यत्ति हो की युएई पाएको अवसरलाई गोल गर्न सक्यो, नेपालले सकेन,’’ सुकोपले भने ।
समूह विजेता र दोस्रो हुने टोलीले विश्वकप छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन् ।







