बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला

जनता संवाददाता
२०८२ बैशाख १६ गते, मंगलवार

नेपालगञ्ज । बाँके जिल्लाको बैजनाथ गाउँपालिका–४, नउलापुरमा खाल्डोमा गाडिएको अवस्थामा एक बालकको शव फेला परेको छ। करिब १० वर्षीय कुशल बुढाको शव खेतमा गाडिएको अवस्थामा भेटिएको हो।

कुशल कोहलपुर नगरपालिका क्षेत्रमै डेरा गरी बस्ने यशोदा बुढाका छोरा हुन्। उनी कोहलपुर माविमा कक्षा ३ मा अध्ययनरत थिए। वैशाख ८ गतेदेखि हराइरहेका कुशलका बारेमा उनकी आमाले ९ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिएका थिए।

स्थानीय एक व्यक्तिले बाख्रा चराउने क्रममा खेतमा बालकको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थल पुगेर सानो खाल्डो खनेर गाडिएको अवस्थामा बालकको शव फेला पारेको हो। शव नजिकै परालले छोपिएको अवस्थामा साइकल र बालकले लगाउने टिसर्ट समेत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालकका बुबाको केही वर्षअघि नै मृत्यु भएको थियो। उनकी आमा यशोदाले हाल निरकनाथ योगीसँग पुनः विवाह गरेकी थिइन् र सबै जना कोहलपुरमै डेरा गरी बस्दै आएका थिए।

हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि बालककी आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिइएको छ। बालकको शव परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते, मंगलवार


Scroll to Top

Janata Media