राजतन्त्रको वकालत गर्नेहरु देशद्रोही हुन्: केपी ओली

जनता संवाददाता
२०८० मंसिर १८ गते, सोमबार

सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रात्मक संघीय व्यवस्थाको विरुद्धमा गएर राजतन्त्रको वकालत गर्नेहरु देशद्रोही भएको बताएका छन् ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको पाँचौँ दिन सोमबार सुर्खेतमा गरिएको जनसभामा उनले सो कुरा बताएका हुन् । प्रतिक्रियावादीहरु गणतन्त्र उल्टाउने प्रयास गरे पनि त्यो सपना कहिल्यै पूरा नहुने उनले चर्चा गरे ।

‘आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्रविरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो’ अध्यक्ष ओलीले भने, “लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको स्पष्ट हुन्छ ।”

उनले महाकाली–मेची अभियानका पाँच दिनमा जनतासँग बुझ्दा गठबन्धनसँग नागरिक वाक्कदिक्क भइसकेको जानकारी प्राप्त भएको बताए । उनले भने, ‘देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिन्छ, अनि मात्रै देश बनाउन, विकास गर्न, सुशासन ल्याउन सकिन्छ ।’

प्रकाशित मिति : २०८० मंसिर १८ गते, सोमबार


Scroll to Top

Janata Media