१४ किलो सुन प्रकरण : मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

जनता संवाददाता
२०८० पुष ८ गते, आईतवार

काठमाडौं । छानबिन समितिले मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

२२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए । त्यसपछि छानबिन समिति गठन भएको थियो ।सो समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी मात्रै बरामद गरिएको जनाएको छ ।

अनुसन्धानका क्रममा मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गरेको खुलेको छ ।

मीनबहादुर र चन्द्रका साथै कृष्णकुमार श्रेष्ठले पनि दुबईबाट सुन लिएर आउने र एयरपोर्टमा सेटिङ मिलाउन डीबी भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको छ ।

एयरपोर्टबाट सुन निकाल्न नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिको निष्कर्ष छ ।

प्रकाशित मिति : २०८० पुष ८ गते, आईतवार


Scroll to Top

Janata Media