जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्ष यान निस्क्रिय

जनता संवाददाता
२०८० माघ १० गते, बुधबार

काठमाण्डौ । जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्षयान त्यहीँ निस्क्रिय भएको छ । मुन स्नाइपर मिसनमा चन्द्रमाको सतहमा शनिवार अवतरण भएको तीन घण्टापछि नै यो यानसँगको सम्पर्क विच्छेद भएको थियो । द स्मार्ट ल्याण्डर नामको अन्तरिक्षयान सौर्यऊर्जामा आएको समस्याका कारण बन्द भएको बीबीसीले जनाएको छ ।

जापानको अन्तरिक्ष एजेन्सी जाक्साले भने सूर्यको किरण सही ठाउँमा पर्‍यो भने उनीहरूको चन्द्रमा ल्यान्डर फेरि सक्रिय हुन सक्नेमा आशावादी रहेको बताएको छ । यानमा रहेको सोलार प्यानलमा देखिएको खराबीका कारण यसको ब्याट्री चार्ज हुन नपाएको र सौर्यउर्जा पाएमा यसको ब्याट्री चार्ज भएर आफै स्वीच अन हुनसक्ने अपेक्षा रहेको जाक्साको भनाइ छ ।

जापानी वैज्ञानिकहरूले ब्याट्री प्रणाली पूर्ण रूपमा असफल हुनुअघि नै यान बन्द गरिसकेका थिए । १२ प्रतिशत पावर बाँकी रहेको र पुनः शुरु गर्दा समस्या नआओस् भनेर स्वीच अफ गर्ने निर्णय गरेको वैज्ञानिकहरूले बताएका खबरमा उल्लेख छ ।

प्रकाशित मिति : २०८० माघ १० गते, बुधबार


Scroll to Top

Janata Media