हुम्ला पुगेका अटो चलाउन असहज भएपछि नेपालगन्ज फिर्ता

जनता संवाददाता
२०८० चैत्र २२ गते, बिहीबार

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा सञ्चालन गर्नका लागि पुगेका अटो रिक्सा फिर्ता हुने भएका छन् ।

बाँकेको कोहलपुर नगरपालिका घर भएका तीन जना युवा राम्रो कमाई होला भनेर हुम्ला पुगेपनि तीन पाङग्रे रिक्सा सञ्चालनका लागि सडक राम्रो नहुँदा फिर्ता हुन लागेका हुन् । कोहलपुरबाट चारदिन लगाएर बिहिबार ताँजकोट पुगेपनि यहाँको सडकमा रिक्सा चलाउन जोखिम भएकाले फिर्ता हुन लागेको कोहलपुर नगरपालिका–२ घर भएका पतिराम थारुले बताए ।

अटो रिक्सा चालक थारुले भने, “सडक राम्रो होला भनेर चारदिन लगाएर यहाँ पुगेपनि तीन पाङग्रेका लागि जोखिम छ ।” बरु चार पाङग्रे गाडीहरुका लागि सहज र राम्रो रहेछ । हामीले चलाउने अटो रिक्साका लागि चालक र यात्रु दुबैका लागि जोखिम छ । यहाँको सडक पिच भएको छैन् ।” यस्तो अप्ठ्यरो सडकमा अटो चलाउँदै गर्दा भोली कुनै दिन तलमाथि भयो जिम्मेवार को हुन्छ । त्यहीँ कारण एक दुई दिन बसेर हामी तीनै जना फिर्ता हुन लागेका हौं उनले भने । ” कोहलपुरबाट अटो रिक्सा ल्याएर मतिराम थारु, मेन थारु र सोमकुमार थारु तीन जना बिहिर विहान हुम्लाको ताँजकोट पुगेका छन् ।

हुम्लाको सडक उकालो ओरालो र अप्ठ्येरो धेरै भएकाले ज्यान जोखिममा पारेर चलाउँनु भन्दा फिर्ता हुने तयारी भएको थारुले बताए । तराईमा पाँच जनासम्म यात्रुलाई अटो रिक्लाले तान्न सक्ने भएपनि हुम्लामा तीन जना पनि तान्न नसक्ने अवस्थाको सडक हुँदा फिर्ता हुने लागेको थारुले बताए ।

नेपालगञ्जदेखि हुम्ला पुग्न तीन जनालाई चार दिनमा तीस हजार बढी खर्च भएको बताए । एक अटो रिक्सालाई कोहलपुरदेखि हुम्ला पुग्न ३५ लिटर तेल खर्च भएको अर्का मेन थारुले बताए । एक अटो रिक्सालाई तेल खर्च झण्डै रु. ६ हजार लागेको थारुले बताए । यस्तै बाटोमा खानाको रु दुई सय देखि तीन सयसम्म तिर्दै आएको बताए ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते, बिहीबार


Scroll to Top

Janata Media