विर बहादुर ठगी प्रकरणः पूर्व मन्त्री बुढा भन्छन्- स्वकीय सचिवमा पार्टीले पठायो, म जैसीलाई चिन्दिन

जनता संवाददाता
२०८१ बैशाख १९ गते, बुधबार

काठमाडौँ । योजना मिलाईदिने भन्दै विर बहादुर रोकायाले ४ लाखभन्दा बढी कमिसन लिएको जनता मिडियामा २०८० पुष २५ गते, बुधबार समाचार प्रकाशन भयो । त्यस लगत्तै यो प्रकरणमा कर्णाली प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाका स्वकिय सचिव लालप्रसाद जैसी जोडिएको २०८० माघ ७ गते, आईतवार फलोअप रिर्पोट प्रकाशन भयो ।

त्यस पश्चात् रोकायाले आफूमाथि लागेको आरोपका आधारमा अर्थात् आफ्नो खातामा आएको रकम फिर्ता गर्ने बताएका थिए । तर उनले अहिलेसम्म पिडितको रकम फिर्ता गरेका छैनन् । उल्टै यो रकम प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाका स्वकिय सचिव लालप्रसाद जैसीले उठाउन लगाएपछि आफुले रकम उठाएकोे तर सबै रकम जैसीलाई दिएको उनले दाबी गरे । ८८ हजार रोकायाले जैसीको खातामा जम्मा गरेको बैँक विवरण दिएका छन् । बाँकी रकम नगद नै दिएको उनले दाबी गरेका छन् ।

जैसीले उक्त कारोबार व्यक्तिगत रहेको दाबी गरेका थिए । तर रोकायाले योजना मिलाउनका लागि भनेर कुरा भएर मात्रै आफुले रकम उठाएको भिडियो मार्फत दाबी गरे । यो विषयमा पूर्वमन्त्री बुढासँग प्रश्न गर्दा उनले स्वकीय सचिव जैसीलाई आफुले नचिनेको बताए ।

‘पार्टीले स्वकीय सचिवमा नियुक्त गर्यो । उनलाई मैँले व्यक्तिगत रुपमा चिनेको पनि छैन । उनी मेरै सचिवालयमा काम गर्थे । कसरी काम गरे ? किन पैसा उठाए ? यो मलाई जानकारीको विषय भएन ।’ उनले जनता मिडियासँग भने ।

ठगीमा संलग्न भएका पूर्व मन्त्री बुढाले आफ्नै स्वकीय सचिवलाई चिन्दिन भन्नु उनको नैतिकता माथिको प्रश्न हो । यसरी जिम्मेवार व्यक्ति नै गैरजिम्मेवार ढंगले जवाफ दिनु ठगी खुलेआम हुनुको संकेत हो । यो घटनाले यस प्रकरणमा पूर्व मन्त्री बुढा ने संलग्न हुन् कि भन्ने आशंका गर्न सकिने प्रशस्तै आधार देखिन्छन् ।

पूर्व मन्त्री बुढा मन्त्रालयको औपचारिक स्थापना भएपश्चात मिति २०७४।११।०३ गते कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमो पदबहाली ग्रहण भएका थिए । उनी नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य समेत हुन् ।

यो पनि पढ्नुहोस्ः

योजना मिलाईदिने भन्दै बिर बहादुर रोकायाले लिए झण्डै ४ लाख कमिशन

पिडित भन्छन्- हाम्रो पैसा फिर्ता गरेर बिर बहादुरलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ

बिर बहादुरले ठगी गरेको ४ लाख बढी रकममा पूर्वमन्त्रीका स्वकिय सचिवको कनेक्सन

बिर बहादुर ठगि प्रकरणमा आफ्नो नाम जोडेको भन्दै पत्रकार दानीलाई धम्की..!!

प्रकाशित मिति : २०८१ बैशाख १९ गते, बुधबार


Scroll to Top

Janata Media