उपप्रमुख र ३ वडाध्यक्षसहित ८ जना कार्यपालिका सदस्यको नगर प्रमुखलाई ध्यानाकर्षण

जनता संवाददाता
२०८१ जेष्ठ ४ गते, शुक्रबार

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका १२ जना कार्यपालिका सदस्यहरुले नगरप्रमुख उपेन्द्र कार्कीलाई ध्यानाकर्षण गराएका छन् । नगर उप-प्रमुख शान्ता थापासहित १२ जना कार्यपालिका सदस्यहरुले नगरप्रमुख कार्कीलाई ध्यानाकर्षण गराएका हुन् ।

काम गर्ने अधिकार क्षेत्रका सवालमा नगरले वडालाई हस्तक्षेप गरेको र पटक पटक जानकारी गराउँदा पनि नगर प्रमुख कार्कीले बेवास्ता गरेको भन्दै संयुक्त रुपमा ध्यानाकर्षण गरिएको बताईएको छ । उक्त ध्यानाकर्षण पत्रमा नगर उप प्रमुख शान्ता थापा, वडा नं १ का वडाध्यक्ष मकुन्द प्रसाद गजुरेल, वडा नं ३ का वडाध्यक्ष राममणि पुडासैनि, वडा नं ४ का वडाध्यक्ष विजय श्रेष्ठ र कार्यपालिका सदस्यहरु प्रकाश नेपाली, सारा पुर्कुटी, गोपाल दर्जी, रुपमति भण्डारी, गोमा रोक्का, अशोक ब्रमशाखा, गुणकेशरी श्रेष्ठ र रमा कालिका गरी जम्मा १२ जना कार्यपालिका सदस्यको हस्ताक्षर छ ।

उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ,‘उपरोक्त सम्बन्धमा मिति २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात यस कागेश्वरी मनोहरा नगरपालिकामा निर्वाचित हामी सबै जनप्रतिनिधि सबै राजनीतिक दलसँग सहमती र सहकार्य गर्ने सोच र योजनकासाथ अगाडि बढिरह्यौ । स्थानीय सरकार बलियो हुनु भनेको जनता बलियो हुनु हो, बिकास र समृद्धिको योजना अगाडी बढ्नु हो । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक एवं भौतिक पूर्वाधार विकासका महत्वपूर्ण विषयलाई प्राथमिकतामा राखि जनसरोकारका महत्वपूर्ण सवाललाई शाश्त बनाउनु र सामाजिक रुपान्तरण गर्नु नै आजको आवश्यकता हो भन्ने महशुस गर्दै अगाडी बढीरह्यौ हामी, सहकार्य र सहमतीका साथ । नगरपालिका स्थानीय सरकार हो, यसले सुशासन र जन जिविकाका बिषय प्रभावकारी रूपमा अगाडि बढाउन सक्यो भने स्थानीय क्षमता अभिवृद्धि गर्न, उत्पादन र उत्पादकत्व बढाउन, स्वरोजगारी सिर्जना गर्न, नगरबासीलाई आफ्नै घर दैलोमा प्रभावकारी सरकारको अनुभूती दिलाउन सकिन्छ भन्ने मान्यताका साथ निरन्तर आफै अगाडि बढ्नु पर्छ भन्ने विश्वास र मान्यतासाथ अगाडि बढ्दै जाने क्रममा थियौ हामी । यही बिचमै पनि नगर प्रमुखको योजना र कार्यशैलीमा केही बिचलन, असामञ्जस्यता र दलगत बाछिटाहरु देख पर्न नथालेको भने हैन, यद्यपि मौखिक रुपमा ध्यानाकर्षण गराई देखा परेका समस्या समाधान गर्ने कोशिस पनि भएकै हुन् तर नगर प्रमुखमा दलगत स्वार्थसँगै व्यक्तिगत स्वार्थ समेत हाबी हुने अवस्था सिर्जना हँदै गयो र सिंगो नगरपालिका प्रशासन सबै म नै हुँ भन्ने भावना उजागर हुन थालेछ झन् । यसैका विम्ब प्रतिविम्ब कार्यशैलीमा देखा पर्न थाले । स्थानीय सरकार सञ्चालन ऐनको दफा १२ को उपदफा २ को खण्ड (ङ) को उपखण्ड (१८) अनुसार वडा समितिमा रहेको कित्ताकाट सम्बन्धी अधिकार माथि समेत हस्तक्षेप गरी कानून विपरितका कार्य समेत हुन थालेपछि सशंकित हुँदै निर्वाचित जनप्रतिनिधिहरु बिच छलफल गरी नगर प्रमुखमा ध्यानाकर्षण गराईएकै हो तर यसको उचित सम्बोधन हुन सकेन ।’

‘नगर प्रमुखज्यूका सुशासनका कुरा हामीले सुनिरह्यौं । सुन्दा मिठा लाग्ने कुराहरु आए तर सबै गफैमा मात्र सिमित भए । हाम्रो नगरसभामा प्रस्तुत भएको फजुल खर्चका बारेमा पनि ध्यानाकर्षण गराईरहँदा केही समस्या छैन छलफल गर्दै सहमती र सहकार्यमै अगाडी बढ्ने हो कुनैपनि सवालमा सहमती र सहकार्यमा कमि हुन नदिने भन्ने आश्वासन प्राप्त भयो । हामी पर्ख र हेरको नीतिमा रह्यौ तर पर्खेको पर्खे नै भईयो । नगर प्रमुखमा पलाएको त्यो व्यक्तिगत मनोकांक्षा कर्मचारी प्रशासनमा समेत देखासहकार्यमा कमि हुन नदिने भन्ने आश्वासन प्राप्त भयो । हामी पर्ख र हेरको नीतिमा रह्यौ तर पर्खेको पर्खे नै भईयो । नगर प्रमुखमा पलाएको त्यो व्यक्तिगत मनोकांक्षा कर्मचारी प्रशासनमा समेत देखा पर्न थाल्यो । बैठक बस्ने तर निर्णय आफ्नो अनुकुलतामा गर्दै जाने, अनुकुलताका विषय थप्दै जाने, बैठकमै छलफल नभएका विषय पनि समावेश गरी निर्णय हुने अवस्था सिर्जना भएको हुँदा यी सबै गलत क्रियाकलापं तथा झाँगिदै गएको विकृती र बिसंगती विरुद्ध आवश्यकता अनुसारका कदम चाल्न हामी निर्वाचित जनप्रतिनिधिहरु सक्षम रहेको र जनताको रगत पसिनाबाट जम्माहुने कर राजश्वको पाई पाई हिसाब गरेर जनातालाई सुसूचित गराउन हामीहरु दृढ संकल्पित रहेकोले यो लिखित ध्यानाकर्षण गराईएको छ । यसबाट निस्कने परिणाम प्रति नगर प्रमुख स्वयं जिम्मेवार हुनुपर्ने कुरामा समेत हामी जनप्रतिनिधिहरु ध्यानाकर्षण गराउन चाहन्छौ ।’

उप-प्रमुख थापासहित १२ जना कार्यपालिकाका सदस्य नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । नगर प्रमुख भने नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । यद्यपी कागेश्वरी मनोहरा नगर कार्यपालिकामा एमाले बहुमतमा छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते, शुक्रबार


Scroll to Top

Janata Media