कप्तान रोहितसँग भनाभन भएका बंगलादेशका तान्जिमलाई गर्‍यो आइसिसीले कारबाही

जनता संवाददाता
२०८१ असार ५ गते, बुधबार

काठमाडौँ । नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका बलर तान्जिम हसन शाकिबलाई आइसिसीले कारबाही गरेको छ।

आइतबार सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा कप्तान रोहित र बंगलादेशी बलर तान्जिमबीच झगडा भएको थियो।

तेस्रो ओभरमा स्ट्राइकमा रोहित पौडेल र बलिङमा तान्जिम थिए। बलिङपश्चात तान्जिमले कप्तान रोहितलाई केही भनेका थिए। आक्रोशित हुँदै रोहितले पनि तान्जिमलाई तत्काल जवाफ फर्काएका थिए।

त्यसपछि विवाद बढ्दा तान्जिमले कप्तान रोहितलाई धक्का दिएका थिए। नेपालका आशिफ शेखले कप्तान रोहित र बंगलादेशका लिटन दासले तान्जिमलाई रोकेका थिए।

तान्जिमले आइसिसीको आचारसंहिता संहिताको धारा २.१२ को उल्लङ्घन गरेको हुँदा उनी कारबाहीमा परेका हुन्।

उनले खेलका रेफ्री रिचर्डसन्सँग आफ्नो गल्ती स्वीकार गरेकाले थप सुनुवाइको आवश्यकता नभएको आइसिसीले जनाएको छ।

आइसिसीले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार तान्जिमको म्याच फिको १५ प्रतिशत शुल्क जरिवानास्वरूप काटिनेछ।

प्रकाशित मिति : २०८१ असार ५ गते, बुधबार


Scroll to Top

Janata Media