पहिरोले झोलुङ्गे पुल भत्काएपछि घुन्साखोलामा बन्यो तुइन

जनता संवाददाता
२०८१ भाद्र १९ गते, बुधबार

काठमाडौं । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलाको झोलुङ्गे पुल पहिरोले भत्काएपछि तुइन सञ्चालन गर्न सुरु गरिएको छ। कञ्चनजङ्घा पद मार्गमा पर्ने घुन्सा खोलाको झोलुङ्गे पुल भएकै ठाउँमा अहिले तुइन सञ्चालनमा ल्याइएको हो ।

फक्ताङ्लुङ गाउँपालिकासँग समन्वय गरेर स्थानीयले त्यही पहिरोले भत्काएको पुलको लट्ठा प्रयोग गरेर तुइन सञ्चालनमा ल्याएको बताइएको छ । स्थानीय रत्नकुमार श्रेष्ठ लगायतले तुइन सञ्चालनमा ल्याएपछि तत्कालका लागि पदयात्री तथा स्थानीयलाई आउजाउ गर्न सुविधा भएको छ । गत साउन २९ गते वर्षासँगै माथिबाट झरेको पहिरोले झोलुङ्गे पुललाई पूर्णरुपमा क्षति गरेको थियो ।

पर्यटकीय मौसम सुरु हुन लाग्दा पहिरोले झोलुङ्गे पुलमा क्षति गरेको र पुल भत्किएर पद मार्ग अवरुद्ध भएपछि कञ्चनजङ्घा आधार शिविर क्षेत्रका बासिन्दा चिन्तित भएका थिए। तत्काल झोलुङ्गे पुल पुनर्निर्माण गर्ने स्थिति नरहेको अवस्थामा तुइन सञ्चालनले थोरै भए पनि राहत पुगेको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण साथै भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटक यही पदमार्ग हुँदै जाने गर्दछन् ।

यता तुइन सञ्चालन गर्न सुरु गरिएपछि प्राविधिक टोलीका साथ गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले स्थलगत निरीक्षण गरेका छन् । अध्यक्ष लिम्बूले आफैँ तुइन चढेर परीक्षणसमेत गरेको बताइएको छ। निरीक्षण तथा परीक्षणपछि पुलको विकल्पमा तत्कालका लागि तुइन सञ्चालन गर्न उचित नै देखिएको गाउँपालिकाले जनाएको छ ।

यता डोरी तान्नुपर्ने र यात्रु चढाउन तथा ओरार्नका लागि खोलाको दुवैतर्फ जनशक्ति हुनुपर्ने भएकाले तुइन सञ्चालन गरेका स्थानीयले तुइन चढ्नेलाई प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क निर्धारण गरेका छन्। भारी अर्थात् सामान तार्दा तौलअनुसार एक सयदेखि दुई सय रुपियाँसम्म शुल्क राखिएको छ।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते, बुधबार


Scroll to Top

Janata Media