साझा यातायातको सेवा विस्तार

जनता संवाददाता
२०८१ आश्विन ३ गते, बिहीबार

काठमाडौं । साझा यातायातले म्याग्दीमा आफ्नो सेवा विस्तार गरेको छ । सार्वजनिक यातायात सेवा प्रदान गर्ने सहकारी संस्था साझा यातायातले राजधानी काठमाडौँदेखि म्याग्दीको सदरमुकाम बेनीसम्म बस छुटाउन थालेको हो ।

बेनी–काठमाडौँको भाडा दर एक हजार एक सय ५० रुपियाँ भएको साझा यातायात बेनीका संयोजक भीमबहादुर श्रेष्ठले बताए । यो भाडा दर अन्यको तुलनामा न्यून हो । बेनी–काठमाडौँ रुटमा चल्ने बसहरूले हाल प्रतियात्रु एक हजार पाँच सय रुपियाँ भाडा लिने गरेका छन् ।

म्याग्दी सदरमुकाम बेनी–काठमाडौँ रुटमा चल्ने ४१ जना क्षमताको दुई वटा बस सेवा सुचारु गरेका छौँ । काठमाडौँदेखि बेनीका लागि हरेक दिन साँझ ६ बजे र बेनीदेखि काठमाडौँका लागि साँझ ६ः१५ मा बस छुटाउने समयतालिका बनाएका छौँ, श्रेष्ठले भने । एक पटकमा एक जना ज्येष्ठ नागरिक, एक जना अपाङ्गता र एक जना विद्यार्थीलाई सहुलियत दिने श्रेष्ठले बताए ।

साझा यातायातको सेवा विस्तार भएपछि म्याग्दी, पर्वतको उत्तरी क्षेत्रमा पर्ने जलजला, मुस्ताङका बासिन्दाका साथै म्याग्दी, मुस्ताङमा आउने पर्यटक तथा तीर्थयात्रीहरूलाई राहत मिलेको छ ।

प्रकाशित मिति : २०८१ आश्विन ३ गते, बिहीबार


Scroll to Top

Janata Media