दसैँ सकिएसँगै उपत्यका फर्किनेको सङ्ख्या बढ्दै

जनता संवाददाता
२०८१ आश्विन २९ गते, मंगलवार

काठमाडौँ । दसैँ मनाएर उपत्यका फर्किने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मङ्गलबार बिहानसम्म अर्थात् पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना उपत्यका भित्रिएका हुन् ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले असोज २७ गतेदेखि नै उपत्यका फर्कनेको सङ्ख्या बढ्दै गएको बताए ।

प्रवक्ता कार्कीले भने, “अहिले बाटो पनि राम्रै छ । आजदेखि बीपी राजमार्ग पनि साना गाडीहरुलाई खुल्यो । काठमाडौँ फर्किने गाडीहरुको सङ्ख्या हिजो, अस्तिदेखि बढ्दै गएको छ ।”

उनका अनुसार दसैँको टीकाको भोलिपल्ट काठमाडौँ फर्किनेको सङ्ख्या २९ हजार आठ सय ५८ थियो ।

प्रकाशित मिति : २०८१ आश्विन २९ गते, मंगलवार


Scroll to Top

Janata Media