रोजगार, शिक्षा र स्वास्थ्य सुनिश्चित गर्न सहिद परिवारको माग

जनता संवाददाता
२०८१ आश्विन ३० गते, बुधबार

काठमाडौं । विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका अमर प्रहरीका परिवारले उनीहरुका सन्तानलाई प्रदान गरिने सेवा सुविधा काम भएको गुनासो गरेका छन् । ६९ औं प्रहरी दिवसका अवसरमा बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा बुधबार गरिएको अमर प्रहरीका परिवारलाई गरिएको सम्मान कार्यक्रममा माग राखेका हुन् ।

योगदानलाई मूल्याङ्कन गर्दै सरकारले सहिदका सन्तानलाई रोजगार, शिक्षाा र स्वास्थ्य सूनिश्चित गरिनु पर्ने अधिकांशको माग थियो । २०६३ साल कपिलबस्तुमा भएको भिडन्तमा सहादत प्राप्त गरेका नविन गुरुङको श्रीमती मिनु गुरुङले पेन्सनको रकमले मात्रै परिवार चलाउन नसकेको बताए ।

व्यास नगरपालिका–११ निर्बु निवासी गुरुङले रकमको अभावले गर्दा जेठो छोरो साजन गुरुङले उच्च शिक्षा अध्ययन नगरी छोडेको बताए । कान्छो छोरो रोशन पनि १२ पास गरेको तर रोजगारीको अवसर स्वदेशमा पाइने अवस्था नभएकोले जापान जानको लागि भाषा सिकिरहेको बताए ।

अमर प्रहरी परिवार शुक्लागण्डकी नगरपालिका निवासी निर्मला लामिछानेले अमर प्रहरी सन्तानहरुलाई नेपाल प्रहरीले प्रदान गर्ने सेवासुविधाहरु कम भएकोले थप्नुपर्ने बताए । उनले अमर परिवार सन्तानहरुले प्राप्त गर्दै आएको सेवा सुविधाहरुले नपुग्ने भन्दै थप्नुपर्ने माग राखे ।

प्रहरीले शिक्षामा दिने छात्रवृत्तिले १८ वर्ष पुग्ने वेलासम्म मात्रै भएको तर उच्च शिक्षामा नपुग्ने भएकोले सो तहसम्म पनि छात्रवृत्ति दिइनेपर्ने बताए । स्वास्थमा पनि उपचारको व्यवस्था गरिनुपर्ने र पढेलेखेका अमर प्रहरीका सन्तानहरु रोजगारी नपाएर भौतारिएको गुनासो गरे । लामिछानेले भने, योग्यता अनुसार रोजगारीको सुनिश्चित गर्न सकेमात्रै राहत दिएको ठहरिन्छ । पटकपटक माग राखे पनि माग पुरा नभएपछि माग राख्न छाडेको लामिछानेले बताए । लामिछानेको एक छोरा छन् ।

२०५७ साल असोजमा बाँकेमा भएको भिडन्तमा श्रीमान् प्रकाश लामिछानेले सहादत प्राप्त गरेको जानकारी उनले दिए । सङ्गठनको नाम उच्च राख्ने अमर प्रहरीको माग पुरा गर्न नेपाल प्रहरीले पहल कदमी गर्नु पर्ने बताए ।

नेपाल पूर्वप्रहरी सङ्गठन तनहुँका अध्यक्ष पूर्व प्रहरी निरीक्षक सुरज रानाभाटले अदम्य शाहर र वीरतापूर्वक लडेर सर्वोच्च बलिदानी दिएका नेपाल प्रहरीका शहीद सम्मानमा ध्यान पुग्न नसकेको गुनासो गरे । सरकारबाट शहीद परिवारलाई हालसम्म उपलब्ध सहयोगबाट उनीहरुको सहज जीवन यापन गर्न कठिनाई भई रहेको बताए । शहीद परिवारजनका बालबालिकाको लागि प्रहरी नियमावली र सरकारी सेवाको लागि छुट्टाईएको कोटा अन्यन्त न्यून रहेकोले सरकारले सेवामा प्राथमिकताको प्रत्याभूति हुनुपर्ने शहीद परिवारको माग रहेको बताए ।

‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ भन्ने नाराका साथ प्रहरी दिवसको अवसरमा तनहुँमा विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका २० जना अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । कर्तव्य पालनका क्रममा दिवङ्गत भएका अमर प्रहरीका परिवारलाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्रबहादुर शाहीले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा सहभागी हुन आएका अमर प्रहरीका परिवारहरु निकै भावुक बनेका थिए । उनीहरुले आफ्नो आशु थाम्न सकेनन् । सम्मान गर्नु अघि अमर प्रहरी स्मारकमा पुष्पा अर्पण गरिएको थियो ।

सोही कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले, दुर्घटना न्यूनिकरण, विपद् व्यवस्थापन, शान्तिसुरक्षा कायम र अपराध नियन्त्रणमा प्रहरीको भूमिका उच्च रहँदै आएको बताए । उनले समुदाय र प्रहरीको सहकार्यले मात्रै विकृति, विसङ्गति अन्त्य गर्न सकिने बताए ।

प्रकाशित मिति : २०८१ आश्विन ३० गते, बुधबार


Scroll to Top

Janata Media