फ्रुटी र मोहीमा नशालु पदार्थ मिसाएर खुवाइ लुटपाट गर्ने दुई पक्राउ

जनता संवाददाता
२०८१ कार्तिक ३ गते, शनिबार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले फ्रुटी र मोहीमा नशालु पदार्थ (घातक विषादी) मिसाएर खुवाइ लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले फ्रुटी र मोहीमा नशालु पदार्थ (घातक विषादी) मिसाएर खुवाइ लुटपाट गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १३ अमलाचौर कास्कीका सञ्जु कोइराला र देवघाट गाउँपालिका वडा नम्बर ५ क्षेत्रीटोल तनहुँका कालु परियारलाई पक्राउ गरिएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी निरीक्षक नविनप्रकाश चापागाईँले जानकारी दिए ।

प्रहरी चापागाईँका अनुसार कोइरालालाई कात्तिक १ गते र परियारलाई असोज ३० गते उनीहरूकै निवासबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याइएको छ ।

प्रहरीका अनुसार उनीहरू गत असोज १२ गते बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्क स्थित न्यु रारा कर्णाली होटलमा आइ बास बसेका थिए । होटल सञ्चालककी आमा पार्वती उपाध्यायलाई आमा नाता लगाएर उनको भरोसा जितेर असोज १५ गते राति अन्दाजी ११ बजेको समयमा होटल सञ्चालककी आमा पार्वती र छोरीहरू विधा आचार्य र विनिशा आचार्यलाई फ्रुटी र मोहीमा घातक विषादी मिसाइ खुवाएर बेहोस बनाएको बाँके प्रहरीले जनाएको छ ।

उनीहरू बेहोस भएपश्चात् उनीहरूको शरीरमा रहेका एक तोला सुनको रिङ, आधा तोला तिलहरी, दुवै छोरीको कानमा रहेका चार वटा गरी एक तोला सुनका रिङ, नाकमा लगाएको नौ आनाको नथनिया गरी जम्मा २.५० तोला नौ आना तौल भएका सुनका गहना र काउन्टरमा रहेको ३० हजार रुपियाँ बराबरका नगद तथा जिन्सी सामान चोरी गरी भागेर फरार रहेको प्रहरी चापागाईँले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको र कात्तिक २ गते बाँके जिल्ला अदालतमार्फत ज्यान मार्ने उद्योग र चोरी कसुरमा कालु परियारलाई सात दिन र सञ्जु कोइरालालाई छ दिन म्याद थप गरी आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते, शनिबार


Scroll to Top

Janata Media