हुम्लामा कर्णालीको पानी तानेर खेतीपाती

जनता संवाददाता
२०८१ फाल्गुन २९ गते, बिहीबार

हुम्ला । खेतीयोग्य जमिनमा सिँचाइका लागि कर्णाली नदीको पानी लिफ्ट प्रणालीबाट तानेर ट्याङ्कीमा खसालिएको छ । सौर्य ऊर्जा प्रणाली प्रयोग गरेर नदीको पानी तानेर ट्याङ्कीमा खसाल्ने काम सफल भएको छ ।

कर्णाली नदी पानी सदावहार बग्ने तर माथिको सर्केगाड गाउँपालिका–१ र अदानचुली गाउँपालिका–२ को सिमानामा पर्ने तुम्चको खेतीयोग्य जमिनमा लगाएको बाली खडेरीले सुक्ने पीडा थियो । त्यही भएर लिफ्ट प्रणालीबाट कर्णाली पानी ट्याङ्की खसाल्ने र त्यसबाट सिँचाइ गरिने छ । सर्केगाडतर्फको तुम्चगाउँका किसान जानकी मल्लले अब कर्णालीको पानीबाट सिँचाइ गर्ने दिन नजिकिएको बताए ।

कर्णाली नदीनजिकै बग्ने तर हुम्लाको फाँट भनेर चिनिने तुम्चको खेतीयोग्य जमिनलाई सधैँ सिँचाइको अभाव हुने गर्दथ्यो । अब सदावहार सिँचाइ गर्न पाउने आशा पलाएको बताउँदै उनले जमिनमा बाह्रै महिना खेती गर्न सकिने जाँगर पलाएको उल्लेख गरे ।

पहिलो पटक लिफ्ट प्रणालीबाट तुम्चमा कर्णाली नदीको पानी तानेर पाँच सय मिटरमाथि निर्माण गरिएको ट्याङ्कीमा खसालिएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए । यसका लागि २०७९ सालको असारमा निर्माण कम्पनी र कार्यालयबिच सम्झौता भएको थियो ।

यो पानी खेतीयोग्य ५० हेक्टर जमिनमा सिँचाइका लागि वितरण गरिने उनले बताए । खेतीयोग्य जग्गामा सिँचाइ नहर निर्माण गर्ने कार्य भइरहेको र आगामी असारसम्म सिँचाइ सञ्चालनमा आउने छ । यसबाट तुम्चगाउँका २५० घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । रासस

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते, बिहीबार


Scroll to Top

Janata Media