तीन सातादेखि विद्युत् उत्पादन ठप्प

जनता संवाददाता
२०८१ कार्तिक ४ गते, आईतवार

काठमाडौं । पछिल्लो तीन सातायता ताप्लेजुङका आधा दर्जन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । अविरल वर्षासँगै गएको बाढीपहिरोले काबेली कोरिडोर प्रसारण लाइनमा क्षति गरेपछि विभिन्न आयोजनाका करिब ६५ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन ठप्प भएको हो ।

अविरल वर्षासँगै इलामको माईखोलामा आएको बाढीले काबेली कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर पोल ९खम्बा० मा क्षति पु(याएपछि गत असोज १२ गतेदेखि ताप्लेजुङका आधा दर्जन आयोजनाको विद्युत् उत्पादन ठप्प भएको हो । असोज १२ पछि सबैभन्दा ठुलो २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको उत्पादन ठप्प भएको छ ।

उक्त आयोजना र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजनाको उत्पादन पनि ठप्प भएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने काबेली खोलाबाट उत्पादन काबेली ‘बी–१’ र क्यासकेट दुवै आयोजना अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहेको छ । आयोजनाका स्थानीय कर्मचारी डिल्ली सुवेदीका अनुसार प्रसारण लाइनमा आएको समस्याकै कारण उत्पादन ठप्प भएको हो ।

यस्तै रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको इँवाखोला जलविद्युत् आयोजनाको उत्पादन पनि ठप्प छ । आयोजनाका स्थानीय कर्मचारी टीकाराम मिश्रका अनुसार ९.९ मेगावाट क्षमता भएको आयोजनाबाट उत्पादन ठप्प बनेको हो । त्यस्तै ९.७ मेगावाट क्षमताको अपर इँवाखोला जलविद्युत् आयोजनाको उत्पादन पनि ठप्प भएको छ । यी दुवै जलविद्युत् आयोजना ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाबाट उत्पादन गरिएका हुन् ।

यसै गरी जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका भई बग्ने फावाखोलाबाट उत्पादन गरिएका दुई वटा जलविद्युत् आयोजनाको पनि उत्पादन ठप्प भएको छ । युनिटेक हाइड्रोपावर कम्पनीको स्वामित्वमा उत्पादन ५.८ मेगावाट र सिवानी हाइड्रोपावर कम्पनीको स्वामित्वमा रहेको पाँच मेगावाट क्षमताको फावाखोला जलविद्युत् आयोजनाबाट उत्पादन हुँदै आएको विद्युत् ठप्प भएको छ ।

यसरी प्रसारण लाइनका कारण निजी क्षेत्रको लगानी र पहलमा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प हुँदा दैनिक लाखौँ रुपियाँ आम्दानी गुमाइरहनु परेको उत्पादक कम्पनीले जनाएका छन् । काबेली बी–१, इँवाखोला जलविद्युत् आयोजनालगायतले अघिल्लो वर्षको वर्षायाममा बाढीपहिरोले आयोजनाका संरचनासमेत क्षति गर्दा निकै नोक्सानी बेहोरेका थिए । यता नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादक कम्पनीले संयुक्त रूपमा बाढीले क्षति गरेको प्रसारण लाइनको टावर पुनर्निर्माण गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते, आईतवार


Scroll to Top

Janata Media