काठमाडौँ । नेकपा (एमाले) ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
एमाले कीर्तिपुर नगर कमिटीको आज बसेको बैठकले डा. मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिए । डा. मानन्धर एमाले केन्द्रीय सदस्य समेत हुन् ।
नगर कमिटीबाट सिफारिस भइआएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद रिक्त रहेको थियो । उपनिर्वाचन आगामी मङ्सिर १६ गते हुने तय भएको छ ।