काठमाडौँ । एसिसी यु–१९ एसिया कपको तयारीका लागि भारतको कर्नाटकसँग खेलिएको पाँच खेलको सिरिज नेपालले जितेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले कर्नाटकलाई सात विकेटले हरायो । नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको हो ।
जितका लागि एक सय ९२ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनरद्वय आकाश त्रिपाठी र मयन यादवले अर्धशतक बनाए ।
आकाशले अविजित ८९ रन बनाए । उनले एक सय पाँच बलमा सात चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यमनले ५० रन बनाए । अर्जुन कुमालले २१ रन बनाए । बलिङमा कर्नाटकका प्रणव अश्वथले दुई तथा तेजसले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । कर्नाटकका लागि कप्तान रोहितले सर्वाधिक ४१ रन बनाए । इसा पुथिगेले ३८ र ओपनर गगन रावले ३४ रन बनाए ।
बलिङमा नेपालका हेमन्तले तीन विकेट लिए । यसअघि नेपालले पहिलो खेल सात विकेट र तेस्रो खेल एक सय २१ रनले जितेको थियो । कर्नाटकले दोस्रो खेल एक विकेट र चौथो खेल पाँच विकेटले जितेको थियो ।
यु–१९ एसिया कप मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स ९युएई० मा सुरु हुनेछ ।एसिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेको छ ।
नेपालले मङ्सिर १४ गते श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेको छ । सेमिफाइनल खेल मङ्सिर २१ र फाइनल खेल २३ गते हुनेछ।







