विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

जनता संवाददाता
२०८१ माघ १० गते, बिहीबार

काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभुमि नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२ बस्ने ५० वर्षीय सुमन्द्र अधिकारी, चितवन राप्ती नगरपालिका–१२ देउरालीटार घर भई ललितपुर ग्वार्को बस्ने ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–८ बस्ने ३० वर्षीया सुमन्ता लिम्बु रहेका छन् ।

पक्राउमध्ये सुमन्द्रले माल्दिभ्स पठाइदिन्छु भन्दै एक जना पीडितबाट आठ लाख रूपियाँ, राजमानले युएई पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुई लाख पाँच हजार पाँच सय रूपियाँ र सुमन्ताले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट पाँच लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमन्द्रलाई काठमाडौं रातोपुलबाट, राजमानलाई काठमाडौं महानगरपालिका–९ बाट र सुमन्तालाई काठमाडौं महानगरपालिका–१२ बाट मङ्गलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ माघ १० गते, बिहीबार


Scroll to Top

Janata Media