‘स्टन्टबाजीबाट देश चल्दैन’ : प्रधानमन्त्री ओली

जनता संवाददाता
२०८१ माघ १६ गते, बुधबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टन्टबाजी’ गरेर देश नचल्ने बताउँदै सुशासन र समृद्धिमा ध्यान दिनुपर्ने बताएका छन्।

बुधबार राजधानीमा आयोजित युवा कानुन व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै उनले अब देशलाई भद्रगोल अवस्थामा राख्न नहुने स्पष्ट पारे।

‘अब देशलाई भद्रगोल बनाएर हुँदैन। सुशासनमा ध्यान दिनुपर्छ, मान्छे कसरी सुखी हुन्छ भन्ने नै हाम्रो केन्द्रबिन्दु हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कानुनी क्षेत्र, न्याय प्रणाली तथा समग्र क्षेत्रमा सुधार आवश्यक छ। सरकार देश र जनताप्रति निष्ठावान र इमानदार छ।’

उनले भ्रष्टाचारलाई कुनै पनि हालतमा सहन नसक्ने दोहोऱ्याउँदै भने, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ। थाहा पाएसम्म है! अब मुसाले कहाँ–कहाँ पुवाल लग्यो, थाहा नहुन पनि सक्छ।’

प्रधानमन्त्री ओलीले भारतीय मिडियाले आफ्नो पत्नी राधिका शाक्यको नाम स्विस बैंकमा जोडेको विषयमा पनि कटाक्ष गरे।

‘फेसबुक हेरिरहेथें, एउटा भारतीय मिडियाले मेरो पत्नी राधिका शाक्यको नाम स्विस बैंकमा ४१ करोड डलर रहेको लेखेछ। यस्तो सुन्दा रिस उठ्नुपर्ने, तर आजकल त रिस पनि उठ्दैन,’ उनले व्यंग्य गरे।

युवा कानुन व्यवसायी सम्मेलनमा भएका छलफलका निष्कर्ष कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले बताए। ‘संविधान संशोधनलगायत कानुनी सुधारको विषयमा भएका निष्कर्षलाई सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्नेछ,’ उनले आश्वासन दिए।

प्रकाशित मिति : २०८१ माघ १६ गते, बुधबार


Scroll to Top

Janata Media