भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

जनता संवाददाता
२०८२ बैशाख २४ गते, बुधबार

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गरेका छन् ।

राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले आफ्ना प्रवक्ताले जारी गरेको एक पत्रमा नियन्त्रण रेखा र पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

“विश्वले भारत र पाकिस्तानबिच सैन्य टकराव सहन सक्दैन,” पत्रमा भनिएको छ।

सोमबार राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले दक्षिण एसियाका दुई छिमेकी मुलुकबिचको तनाव ‘केही वर्षयताकै उच्च’ स्थितिमा पुगेको चेतावनी दिएका थिए ।

उनले दुवै सरकारलाई तनाव कम गर्न र कूटनीतिलाई बढावा दिनको लागि आफू मातहतका कार्यालयहरूको निर्देशन दिँदै ‘सैन्य समाधान कुनै समाधान नभएको’ बताए ।

गुटेर्रेसले अप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी आक्रमणको पुनः एक पटक कडा शब्दमा निन्दा गरेका छन् । उनले भने, “सर्वसाधारणलाई निशाना बनाउनु अस्वीकार्य छ र घटनाका लागि जिम्मेवार व्यक्तिहरूलाई विश्वसनीय र कानुनी माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्छ।

गत अप्रिल २२ मा भारत प्रशासित काश्मिरको पहलगाममा पर्यटकमाथि भएको घातक आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : २०८२ बैशाख २४ गते, बुधबार


Scroll to Top

Janata Media