मुगुमा मौसमी पानी घट्टको परम्परा अझै जीवित

जनता संवाददाता
२०८२ श्रावण १२ गते, सोमबार

विनोद कुमार मल्ल, मुगु । मुगुका ग्रामीण बस्तीहरूमा आज पनि मौसमी पानी घट्टको परम्परा जीवित छ। पहाडी खोलानालामा पानीको बहाव प्रयोग गरी अन्न पिस्ने यो परम्परागत प्रविधि पुस्तौँदेखि स्थानीय जीवनशैलीको अंग बनेको छ।

वर्षायाममा पानीको बहाव बढेसँगै घट्टहरू झन् सक्रिय हुन्छन्। स्थानीय किसानहरू मकै, कोदो, गहुँ, जौंजस्ता अन्न बाली पिस्न यिनै घट्ट प्रयोग गर्छन्। गाउँघर नजिकै निर्माण गरिएका घट्टसम्म उनीहरू भारी बोकेर पुग्ने गरेका छन्। यसले समय र श्रम दुवै बचत हुने गाउँलेहरूको भनाइ छ।

मुगुका धेरै बस्तीहरूमा सडक र विद्युतको पहुँच नपुगेकाले आधुनिक मिलको प्रयोग सीमित छ। “बिजुली मिल त बजारमै मात्र छ, हामीलाई त यही घट्ट सजिलो र सस्तो पर्छ,” गमगढी नजिकैका एक कृषकले बताए।

यद्यपि, बुढापाकाहरूले नयाँ पुस्ताले यस्ता परम्परागत प्रविधिको संरक्षणप्रति चासो नदेखाएको गुनासो गरेका छन्। संरचना जीर्ण हुँदै जाँदा कतिपय घट्ट लोप हुने अवस्थामा पुगेका छन्।

तर, दुर्गम भेगका बस्तीहरूमा मौसमी पानी घट्ट अझै पनि सामूहिक सम्पत्ति र सहजीविकाको प्रतीकका रूपमा सञ्चालनमा छन्। वर्षायाम शुरू भएसँगै हिउँदमा सुकेका खोलानाला सक्रिय भई घट्ट सञ्चालनमा आउँछन्।

प्रकाशित मिति : २०८२ श्रावण १२ गते, सोमबार


Scroll to Top

Janata Media