फिदिममा आगलागी हुँदा दुई जनाको मृत्यु, ५० लाखको क्षति

जनता संवाददाता
२०७९ पुष २० गते, बुधबार

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुम्नेताराममा गएराति एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

स्थानीयवासी मेघबहादुर गुरुङको घरमा अकस्मात आगलागी हुँदा उनकी बुहारी २३ वर्षीय असाङ्सिन थेवे र २२ वर्षीया छोरी ममता गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन् भने अन्य तीन जना भने भाग्न सफल भएका छन् । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएकाले करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने उनले बताए । अन्य कारण नभेटेकाले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

आगो नियन्त्रणका लागि अस्थायी प्रहरी चौकी रानीटारका सहायक प्रहरी निरीक्षक रोशन श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाको नेतृत्वमा २५ जना प्रहरी परिचालन गरिएको थियो ।

स्थानीयवासी, दुई दमकल र प्रहरीको प्रयासमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागी पीडितलाई छिमेकीको घरमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश गायरे, फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले, फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेलगायतको टोली घटनास्थल पुगेर जिल्ला विपद् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत पीडितलाई खाद्यान्न र लत्ताकपडा दिने तयारी गरिरहेको छ । रासस

प्रकाशित मिति : २०७९ पुष २० गते, बुधबार


Scroll to Top

Janata Media