माओवादी युद्धका सहयात्रीलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल

जनता संवाददाता
२०८० फाल्गुन १ गते, मंगलवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् ।

माओवादी केन्द्रले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटनपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको उल्लेख गरे ।

सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आउनुहोस् बसौँ, समीक्षा गरौँ । नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरू आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।”

सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै अध्यक्ष प्रचण्डले सङ्कल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गरे । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरू अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे ।

जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको बताए । सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरूले यस बिदालाई भब्यरुपमा मनाउने बताउँदै यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताए ।

“नेपालमा ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णायक भूमिका कमरेड प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन ।” उपाध्यक्ष श्रेष्ठले भने, “शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रूपान्तरण गरेको छ, उनी दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।”सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताए ।

समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धिको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १ गते, मंगलवार


Scroll to Top

Janata Media