काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित भएका छ । सदरमुकाम फुङ्लिङमा शुक्रबार सम्पन्न अखिल क्रान्तिकारीको १२ औँ जिल्ला सम्मेलनबाट अध्यक्षका अर्का प्रत्याशी तेन्जिङ कार्कीलाई पराजित गर्दै पन्दाक निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा निर्वाचित पन्दाकले ७९ मत प्राप्त गरे भने पराजित हुनुभएका कार्कीले ५४ मत मात्र प्राप्त गर्न निर्वाचन समितिका संयोजक प्रजिन हाङ्बाङले जानकारी दिए । अखिल क्रान्तिकारीको जिल्ला कमिटी चयनमा अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको हो । अध्यक्षबाहेक ३९ सदस्यीय जिल्ला कमिटीको अन्य पदमा भने सर्वसहमति जुटेको थियो ।
जिल्ला कमिटीको उपाध्यक्षहरूमा रोशन सावादेन, काजीमान विष्ट र मनिता रसाइली चयन भएका छन् । यस्तै सचिवमा हेमन्त पौडेल क्षेत्री, सहसचिवमा राज गुरुङ, मिलन कालिकोटे र निकिता आङ्बुहाङ तथा कोषाध्यक्षमा सुजन अन्छङ्बो चयन भएको निर्वाचन समिति संयोजक हाङ्बाङले जानकारी दिरे ।
बिहीबार सुरु भएको सम्मेलनमा जिल्लाका नौवटै स्थानीय तहबाट प्रतिनिधित्व हुनेगरी दुईसय बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी भएका थिए। सम्मेलनको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले उद्घाटन गरेका थिए। जिल्ला सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव प्रजिन हाङ्बाङ, केन्द्रीय सदस्यलगायतको उपस्थिति रहेको थियो ।
यता अखिल क्रान्तिकारी ताप्लेजुङको नेतृत्वमा पहिलो पटक महिला निर्वाचित हुनुभएको पनि सो सङ्गठनले जनाएको छ । अखिल क्रान्तिकारीको नवनिर्वाचित जिल्ला समितिलाई माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बू, विद्यार्थी युवा सङ्गठनका फ्याक्सन इन्चार्ज सुरज ओझा लगायतले बधाई तथा शुभकामना दिएका थिए ।







