काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाकोे प्रमुखका लागि पुनः नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले जित हासिल गर्दै पुरानो विरासत जोगाएका हुन् ।डंगोलले ५ हजार ३ सय ३४ मत प्राप्त गरेका हुन् । त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४५५५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।कीर्तिपुर नगरपालिकामा नेकपा एमाले भने तेस्रो भएको छ । नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४३३७ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २०३६ मत प्राप्त गरेका छन् ।
आइतबार भएको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा २० हजार बढी मत खसेको थियो ।०७९ सालको स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका राजकुमार नकर्मीले जितेका थिए । तर उनको निधन भएसँगै त्यहाँ पुनः उपनिर्वाचन भएको हो ।







