काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) शनिबार हुने फाइनल खेलअघि नै विश्व चर्चित र सफल प्रतियोगिता बनिसकेको छ । अब एनपिएलको पहिलो च्याम्पियनको धमिलो तस्बिर धेरै हदसम्म सफा भएको छ । करिब तीन हप्ता लामो प्रतियोगिताको विजेताको छिनोफानोका लागि अब सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स मात्र बाँकी रहेका छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा शनिबार हुने फाइनल प्रतियोगिताका दुई सर्वश्रेष्ठ टिमबिचको लडाइँ हो भन्दा फरक पर्दैन । चालु प्रतियोगितामा यी दुई टिम नै हेभिवेटका रूपमा प्रस्तुत भएका छन् । जनकपुर र सुदूरपश्चिम शीर्ष दुईमा रहेर प्लेअफमा पुगेका थिए ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा जनकपुरलाई हराएर सिधै फाइनलमा पुग्यो भने जनकपुरले हारपछि दोस्रो क्वालिफायर खेल्नु परेको हो । दोस्रो अवसरमा कर्णाली याक्सलाई हराएपछि जनकपुर फाइनल खेल्ने ऐतिहासिक अवसरबाट भने वञ्चित हुनु परेन ।
सुदूरपश्चिमले समूह चरणमा पनि जनकपुरलाई हराएको थियो । जनकपुर तेस्रो पटकमा भाग्यमानी साबित भएर सुदूरपश्चिमसँग बदला लिने दाउमा छ ।
यद्यपि दुई पटक जनकपुरलाई हराइसकेकाले सुदूरपश्चिम जनकपुरलाई हराउनेमा विश्वस्त देखिन्छ । चालु प्रतियोगितामा सुदूरपश्चिमले आठमध्ये एक खेलमा मात्र हार बेहोरेको छ । समूह चरणमा चितवन राइनोजसँगको हारले मात्र सुदूरपश्चिमको शतप्रतिशत जितको गर्बिलो यात्रामा धक्का लागेको थियो ।
त्यसैले सुदूरपश्चिमका प्रेरणादायी कप्तान दीपेन्द्रसिंह ऐरी पछिल्ला प्रायः सबै खेलमा आफ्नो टिमले राम्रो प्रदर्शन गरेकाले फाइनल पनि राम्रा हुने अपेक्षा गरेका छन् । उनी भन्छन्, “हामी फाइनलका लागि तयार छौँ ।
यस प्रतियोगितामा दुई पटक हराइसकेको टिमविरुद्ध फाइनल खेल्दै छौँ तर जनकपुर बलियो टिम हो । पछिल्ला खेलमा हरायौँ भन्दैमा फाइनल सहज हुने छ भन्ने होइन । फाइनल जित्न सबै खेलाडीले शतप्रतिशत योगदान दिनुपर्ने छ ।
चालु प्रतियोगितामा सुदूरपश्चिमका लागि फरक फरक खेलमा भिन्न भिन्न खेलाडी नायक बनेका छन् । जसले फाइनलमा सुदूरपश्चिमलाई उच्च मनोबल प्रदान गर्ने छ । प्रतियोगितामा सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष एघारमा सुदूरपश्चिमका चार ब्याट्सम्यान दीपेन्द्र, सैफ अली जैब, विनोद भण्डारी र ब्रेन्डन म्याकमुलेन छन् । जनकपुरको शीर्ष ब्याटिङ्क्रम सङ्घर्षरत छ ।
श्रीलङ्काली मूलका अमेरिकी ब्याट्सम्यान लाहिरू मिलान र आसिफ शेखले पछिल्ला पाँच खेलमा मिलेर मात्र ८२ रन बनाएका छन् । नियमित कप्तान अनिल शाह प्लेअफअघि नै घाइते भएर प्रतियोगिताबाट बाहिरिएकाले पनि जनकपुरको ब्याटिङ केही कमजोर देखिएको हो । यद्यपि जनकपुरका कप्तान आसिफ शेख यस पक्षलाई लिएर चिन्तित छन् । उनी भन्छन्, “सबै खेलाडी राम्रो मनस्थितिमा छन् ।
पछिल्ला केही खेलमा ब्याटिङ राम्रो भएको थिएन । फाइनलमा ब्याटिङले कमब्याक गर्ने आशा छ । हाम्रो ब्याटिङ्क्रम अनुभवीले भरिएको छ तर सुदूरपश्चिम प्रतिस्पर्धात्मक टिम हो । उसलाई जित्न पूर्ण क्षमतामा खेल्नु पर्छ । पहिलेका दुवै खेलमा सुदूरपश्चिमविरुद्ध ब्याटिङमा अपेक्षा अनुरूप खेल्न नसक्दा हारेका हौँ, आशा छ भोलि सबैले शतप्रतिशत दिने छन् ।”
जनकपुरको धरमराएको ब्याटिङमा न्युजिल्यान्डका जिमी निसम सञ्जीवनी बुटीका रूपमा प्रस्तुत भएका छन् । जनकपुरको बलियो पक्ष बलिङ हो । सर्वाधिक विकेटकर्ताको सूचीमा रहेका शीर्ष १० बलरमध्ये तीन जना (ललित राजवंशी, हर्ष ठाकर र किशोर महतो) जनकपुरकै छन् । ललित र सुदूरपश्चिमका स्कट कुग्लियनबिचको प्रतिद्वन्दिता पनि फाइनलको रोचक पक्ष हुने छ ।
नेपालका प्रमुख स्पिनर ललित र न्युजिल्यान्डका तेज बलर कुग्लियन १६–१६ विकेट लिएर सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त रूपमा अग्रस्थानमा हुनुहुन्छ । यसै गरी त्रिविमा हाइस्कोरिङ र लोस्कोरिङ दुवै किसिमको पिच देखिएका छन् । त्यसैले दुवै कप्तानले भोलिको पिच हेरेपछि रणनीति बनाउने बताएका छन् ।
जनकपुरका कप्तान आसिफले टी–२० संरचनामा खेलको समयमा जसले कम गल्ती गर्छ र जो टिम मानसिक रूपमा सशक्त भएर खेल्छ, उसैले जित्ने भएकाले फाइनलबारे केही भन्न सकिने स्थिति नरहेको धारणा राखे । “हजारौँ दर्शकको अगाडि एनपिएल फाइनल जस्तो ठुलो खेलमा मानसिक रूपमा बलियो बन्नु पर्छ,” आसिफको भनाइ छ । फाइनलमा आसिफका आफ्नै दाइ आरिफ शेखसँग पनि सामना हुने छ ।
आसिफले घरमा मात्र दाजुभाइ तर मैदानमा प्रतिद्वन्द्वी नै हौँ, भनी च्याम्पियन बन्ने इच्छा देखाए । फाइनल दुई ठुला फ्यानबेस भएको टिमबिचको भिडन्त पनि हो । प्रतियोगितामा सहभागी आठ टिममध्ये सुदूरपश्चिम र जनकपुरको फ्यानबेस सर्वाधिक, जोसिलो र भावनात्मक देखिएको छ । त्यसैले पनि दर्शकले खचाखच हुने त्रिवि क्रिकेट मैदानको रौनक हेर्नलायक हुने छ ।
हेर्नलायक खेलाडी :
दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम)
अहिलेसम्म एनपिएलको पहिलो संस्करण सम्झनलायक प्रदर्शन गरिरहेका दीपेन्द्रसिंह ऐरी उत्कृष्ट नेपाली खेलाडीलाई दिइने कार पुरस्कारको दौडमा छन् । फाइनलमा राम्रो प्रदर्शन गरेमा दीपेन्द्र निर्विवाद रूपमा कार विजेता बन्नुहुने छ ।
यद्यपि उनलाई कारको लडाइँमा जनकपुरका स्पिनर ललित राजवंशीले चुनौती दिने सम्भावना उत्तिकै छ । व्यक्तिगत प्रदर्शन मात्र होइन दीपेन्द्रको कप्तानीको पनि अहिले प्रशंसा भइरहेको छ ।
दीपेन्द्रले आठ पालिमा १६२.८८ को स्ट्राइकर रेट र ४३.६० को औसतमा एक अर्धशतकसहति कुल २१८ रन बनाएका छन् । सर्वाधिक रनकर्ताको सूचीमा उनी छैटौँ स्थानमा छन् । यसै गरी उनले छ पालिमा छ को ‘इकोनोमी’ मा बलिङ गरी आठ विकेट पनि लिएका छन् । यसै गरी दीपेन्द्र प्रतियोगिताकै उत्कृष्ट फिल्डरमध्ये एक छन् ।
जिमी निसम (जनकपुर बोल्ट्स)
जनकपुर फाइनलमा खेल्नुमा सबभन्दा ठुलो योगदान न्युजिल्यान्डका अलराउन्डर जिमी निसमको छभन्दा फरक पर्दैन । जनकपुरको बलिङ आक्रमणमा पनि उत्तिकै योगदान दिने निसमको खातामा छ विकेट पनि रहेको छ ।
निसम सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो स्थानमा रहेका छन् । उनले आठ पालिमा ४०।५० को औसतमा २४३ रन बनाएका छन् । जसमा उनको स्ट्राइक रेट २०४.२० रहेको छ । छैटौँ क्रमका ब्याटिङमा आएर निसमले पछिल्ला तीन खेलमा विस्फोटक ब्याटिङ गरेका छन् ।
उनले पछिल्ला तीन खेलमा टिमकै कुल स्कोरमध्ये ४० प्रतिशत रन बनाएका छन् । त्यसैले जनकपुर च्याम्पियन बन्नु छ भने शनिबार निसमको प्रदर्शनले ठुलो भूमिका निर्वाह हुन सक्ने छ ।







