हेलिकप्टरमा मन्त्री आए, जनताले धुलो खाए

जनता संवाददाता
२०८१ माघ २३ गते, बुधबार

काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव बिक्रम शाह पाँचौँ मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्न सोमबार हेलिकप्टर मार्फत् जाजरकोटको छेडागाड पुगे।

तर, मन्त्री अवतरण हुनु भन्दा अघि नै हेलिकप्टरको प्रचण्ड हावाले खेल मैदानमा बसेका दर्शकलाई धुलाम्मे बनायो।

प्रतियोगिता हेर्न मैदानमा आएका स्थानीयहरू हावाको बेगसँगै उडेको धुलोको मुस्लोमा हराए। कोही आँखा मिच्दै थिए, कोही लुगा फट्कार्दै। केहीबेरमै सामाजिक सञ्जाल धुलाम्मे फोटोहरू र आलोचनाले भरियो।

सामाजिक सञ्जालमा आलोचना चुलिएपछि मन्त्री शाहले प्रतिक्रिया दिंदै भने, ‘म बाध्यताले हेलिकप्टरमा जानुपर्‍यो। जनतालाई धुलो खुवाउन गएको होइन।’

उनका अनुसार, कर्णाली प्रदेशसभाको स्थापना दिवस र खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रम एकै दिन परेकाले हेलिकप्टर लिनुपरेको हो।

मन्त्रीको सचिवालयले विभिन्न निजी कम्पनीहरूसँग हेलिकप्टर खोजेपनि उपलब्ध नहुँदा नेपाली सेनाको हेलिकप्टर चार्टर गर्नुपरेको स्पष्ट पारेको छ।

सचिवालयले हेलिकप्टर खर्च मन्त्रीकै व्यक्तिगत खर्चमा भुक्तानी गरिएको दाबी गरेको छ।

प्रकाशित मिति : २०८१ माघ २३ गते, बुधबार


Scroll to Top

Janata Media