बार्सिलोना बराबरीमा रोकिँदा रियलको हार

जनता संवाददाता
२०८१ चैत्र २४ गते, आईतवार

काठमाडौँ । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको बार्सिलोना बराबरीमा रोकिँदा अर्को बलियो टोली रियल म्याड्रिडले हार खेपेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना रियाल बेटिससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा बार्सिलोनाले अग्रता लिएको थियो । बार्सिलोनाका लागि गाभीले सातौँ मिनेटमा खाता खोले । त्यसपछि रियल बेटिसका नाथनले १७ओँ मिनेटमा बराबरी गोल फर्काएका थिए । बराबरीसँगै शीर्षस्थानमा यथावत बार्सिलोनाले ३० खेलबाट ६७ अङ्क बनाएको छ । समान खेलबाट ४८ अङ्क बनाएको बेटिस पाँचौँ स्थानमा छ ।

यस्तै अर्को खेलमा दोस्रो स्थानमा रहेको रियल घरेलु मैदानमै भ्यालेन्सियासँग २–१ गोलले पराजित भयो । हारसँगै रियलले बार्सिलोनासँग अङ्क दुरी घटाउने मौका गुमायो । भ्यालेन्सियालाई जिताउन मोउटर डिआखबी र हुगो डुरोले गोल गरे ।

रियलले आत्मघाती गोल उपहार पाएको थियो । भिनिसियस जुनियरले पेनाल्टीको सदुपयोग गर्न नसक्दा रियलले दबाब खेपेको थिया । हारसँगै ३० खेलबाट ६३ अङ्क बनाएको रियल दोस्रो स्थानमा छ । जितसँगै ३४ अङ्क बनाएको भ्यालेन्सिया १५औँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते, आईतवार


Scroll to Top

Janata Media